बाँके, साउन १ गते ।
नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ९ करोड ४८ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको ८१.८७ प्रतिशत मात्र भए पनि अघिल्ला वर्षहरूको तुलनामा राजस्व सङ्कलन २० अर्बको हाराहारीमै कायम रहेको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार गत आर्थिक वर्षका लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो। लक्ष्यभन्दा करिब ४ अर्ब ४५ करोड रुपैयाँ कम राजस्व उठेको हो।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ र २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यस आधारमा गत वर्षको सङ्कलन अघिल्लो वर्षको तुलनामा करिब १९ करोड रुपैयाँले घटेको देखिन्छ।
नेपालगन्ज नाकाबाट इन्धन, ट्र्याक्टर तथा ट्रेलर, पोलिथिनका दाना, चामल, अन्य खाद्यान्न र फलामलगायतका वस्तु आयात हुने गरेका छन्। यिनै वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन हुने गरेको कार्यालयको तथ्याङ्क छ। यसैगरी जडीबुटीलगायतका सामग्री निर्यात पनि हुँदै आएको छ।
कार्यालयका अनुसार विश्वव्यापी आर्थिक मन्दी, इन्धन आपूर्तिमा देखिएको समस्या, मूल्यवृद्धि तथा विकास निर्माणका गतिविधिमा आएको सुस्तताले आयात प्रभावित हुँदा राजस्व सङ्कलनमा असर परेको हो।
कालोपत्रे सडक निर्माणमा प्रयोग हुने बिटुमिन, कोइला, पीभीसी रेजिन, कम्पाउन्डलगायत कच्चा पदार्थको मूल्य बढेपछि आयात घटेको कार्यालयले जनाएको छ। साथै, पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्दा पनि राजस्व लक्ष्य भेट्न नसकिएको भन्सार कार्यालयको भनाइ छ।










Discussion about this post