बाँके, भदौ ९ गते ।
खेतीपातीको मुख्य काम सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढेको छ । बाँकेको जमुनाहा नाका हुँदै पछिल्ला दिनमा दैनिक सात सयदेखि एक हजारसम्म नेपाली भारततर्फ जाने गरेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईका अनुसार केही दिनयता भारत जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको हो । बिहानैदेखि साँझसम्म जमुनाहा नाकामा भारत जाने नेपालीको भीड लाग्ने गरेको उनले बताए ।
‘केही दिनयता भारत जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । अहिले दैनिक एक हजार जनासम्म भारततर्फ जाने गरेका छन्,’ उनले भने ।
खेतीपातीको काम सकिएपछि गाउँघरमा तत्कालै रोजगारीको अवसर नहुँदा नेपालीहरू भारत जाने गरेका छन् । हिमाञ्चल प्रदेशमा स्याउ पाक्ने समय भएकाले स्याउ टिप्ने र ढुवानी गर्ने कामका लागि पनि नेपाली युवाहरू त्यसतर्फ जाने गरेका छन् ।
प्रहरीका अनुसार सिमला, अमृतसर, चण्डीगढ, हरिद्वार, जयपुरलगायत भारतीय सहरमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि बढी छ ।
भारत जाने नेपालीको चाप बढेपछि जमुनाहा नाका र भारततर्फको रुपैडिहा बसपार्कमा सुरक्षाकर्मी परिचालन बढाइएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीका अनुसार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नेपालीहरू समूह बनाएर भारत प्रवेश गर्ने गरेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका–ढिमेका दलबहादुर विक पनि जमुनाहा नाका हुँदै भारत जाँदै थिए । खेतीपातीको काम सकिएपछि गाउँमा अर्को रोजगारी नपाउँदा भारत जानुपरेको उनले बताए ।
‘खेतीपातीको काम सकियो । गाउँमा अर्को काम छैन । त्यसैले फेरि भारत जान लागेको हुँ,’ उनले भने, ‘नेपालमै पर्याप्त रोजगारी सिर्जना नभएसम्म हामीजस्ता युवालाई भारत जानुपर्ने बाध्यता हट्दैन ।’
दैलेखको नौमुलेका रमेश मल्ल पनि रोजगारीका लागि हरिद्वार जाँदै थिए । उनले अर्को वर्ष दसैंमा घर फर्किने योजना रहेको बताए ।
गाउँमा रोजगारीको अवसर नहुँदा खेतीपातीको काम सकिएपछि भारत पस्ने नेपालीको संख्या बढ्ने गरेको छ । रोजगारीका लागि भारत जानेमध्ये धेरैजसो नेपालीले त्यहाँ कृषि, निर्माण, होटल तथा अन्य असंगठित क्षेत्रमा काम गर्दै आएका छन् ।











Discussion about this post