बाँके, असोज २९ गते ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका १५ लाख २९ हजार ७ सय रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
असोज २६ देखि २८ गतेसम्म तीन दिनको अवधिमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँके र मातहतका सीमा सुरक्षा पोस्ट (बीओपी) बाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।
बरामद सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणका गणपति एसपी भीमबहादुर चन्दले अनलाइन खोजखबरलाई बताए।
उनका अनुसार सशस्त्र प्रहरीले लत्ताकपडा, किराना सामान, मोटर पार्ट्स, भाँडावर्तन, कस्मेटिक सामग्री, पेय पदार्थ, तरकारी, खाद्यान्न र फलफूललगायत सामान बरामद गरेको हो।
चाडपर्वका बेला सीमावर्ती क्षेत्रमा किनमेल, आवतजावत र सामान ओसारपसार बढ्ने भएकाले चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निगरानी कडा पारिएको एसपी चन्दले बताए। सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्नुका साथै गस्ती, चेकजाँच र निगरानीलाई प्रभावकारी बनाइएको उनले जानकारी दिए।
‘अवैध चोरी पैठारी नियन्त्रणमा कुनै सम्झौता हुँदैन। राजस्व चुहावट रोक्न र सीमा अपराध नियन्त्रण गर्न मातहतका सबै युनिटलाई सक्रिय बनाएका छौँ,’ एसपी चन्दले भने।
उनका अनुसार अवैध सामानको ओसारपसार नियन्त्रणसँगै लागूऔषध तस्करी, हातहतियारको अवैध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। नेपालगन्जको जमुनाह नाकामा तालिमप्राप्त कुकुरको सहयोगमा समेत चेकजाँच गर्ने गरिएको उनले बताए।
भारतसँग बाँकेको करिब ६५ किलोमिटर खुला सीमा जोडिएको छ। खुला सीमाका कारण अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायलाई चुनौती हुँदै आएको छ।
खुला सीमाका कारण सबै गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न सहज नभए पनि अवैध कारोबार रोक्न निरन्तर प्रयास भइरहेको एसपी चन्दले बताए। विगतको तुलनामा अवैध कारोबार नियन्त्रणमा सुधार आएको उल्लेख गर्दै उनले सीमा अपराध रोक्न सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइएको दाबी गरे।
सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले पनि सीमावर्ती नाकामा निगरानी र चेकजाँच गर्दै आएको छ। राजस्व चुहावट रोक्ने र सीमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने उद्देश्यले नियमित गस्ती तथा चेकजाँचलाई व्यवस्थित गरिएको सीमा क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरी अधिकृतले बताए।
एसपी चन्दले मातहतका युनिट प्रमुखलाई अवैध चोरी पैठारी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको ती अधिकृतले जानकारी दिए।
जमुनाह क्षेत्रका स्थानीय समसुद्दिन राईले एसपी चन्दले नेतृत्व सम्हालेपछि नाकामा चेकजाँच र निगरानी कडा भएको बताए।
उनका अनुसार विगतको तुलनामा अहिले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेको छ। नाकामा हुने आवतजावत तथा सामान ओसारपसारमाथि निगरानी बढाइएको उनले अनुभव सुनाए।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा लागूऔषध र हातहतियारको अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानीलाई निरन्तरता दिएको जनाएको छ।










Discussion about this post