बाँके, भदौ २० गते ।
रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि बाँकेमा उनीहरूका आफन्तको डीएनए परीक्षण गर्न नमुना संकलन सुरु गरिएको छ ।
भेरी अस्पतालमा शनिबार १६ जनाको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले बताए । उनका अनुसार नेपाल प्रहरीसँगको सहकार्यमा नमुना संकलन गरिएको हो । संकलन गरिएका नमुना शनिबार नै काठमाडौं पठाइएको छ ।
बाढीमा बेपत्ता भएका व्यक्तिहरू लामो समयसम्म सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमुना संकलन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।
उनका अनुसार डीएनए परीक्षणका लागि नमुना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ता व्यक्तिका आफन्त छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परेको छ । अझै २७ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।












Discussion about this post