बाँके, असोज १३ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१९ कन्ठिपुरबाट प्रहरीले ३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले कन्ठिपुरस्थित चक्रे विकको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरले बताए।
उनका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१९ का ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, ३२ वर्षीय चक्रे विक र २० वर्षीय बबिराम रोकामगर छन्।
यस्तै, बर्दियाको गुलरिया नगरपालिका–१ का ४८ वर्षीय राजेन्द्र कुमाल र कैलालीको चुरे गाउँपालिका–३ का २४ वर्षीय महेश मल्ललाई पनि पक्राउ गरिएको राठौरले बताए।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल र नेपाली नगद ७ हजार २३० रुपैयाँसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी राठौरले बताए।









Discussion about this post