बाँके, असोज २८ गते ।
बाँकेको खजुरा गाउँपालिका–७ सोनवर्षामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५७ हजार ४७० रुपैयाँ नगद र तासका दुई गड्डी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलवार सोनवर्षास्थित विष्णु वर्माको खाली घरको छतमा जुवातास खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी टोली खटिएको थियो। टोलीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका ३४ वर्षीय अर्जुन कुमार वर्मा छन्। त्यस्तै, खजुरा गाउँपालिका–७ सोनवर्षाका ३५ वर्षीय सन्तोष वर्मा, ३१ वर्षीय पवन कुमार यादव, ३८ वर्षीय इशरार अहमद खाँ, ५३ वर्षीय हरिहर कुर्मी, ३५ वर्षीय मनोज कुमार राढ, ३८ वर्षीय बराती राढ, ४५ वर्षीय प्रभु दमाल राढ, २८ वर्षीय बिक्रम राढ र ३८ वर्षीय मालिकराम राढ पक्राउ परेका छन्।
यसैगरी, खजुरा गाउँपालिका–८ रनियापुरका ६३ वर्षीय सन्नाम कसाई र ६४ वर्षीय वकिल कुरेसी पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट नगदसँगै खोलिएको एक गड्डी र नखोलिएको एक गड्डी तास बरामद गरेको हो।
पक्राउ परेका १२ जनामाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बाँकेबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताएका छन्।











Discussion about this post