बाँके, मंसिर ११ गते ।
कोरोना महामारीका बेला सङ्क्रमितको व्यवस्थापन र उपचारका लागि नेपालगन्जमा २९ करोड ३८ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएको छ । सङ्घीय सरकारले महामारीपछि यसको वैकल्पिक उपयोगबारे निर्णय नगर्दा करोडौँ रुपैयाँको सार्वजनिक लगानी खेर जाने अवस्थामा पुगेको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१४ मा निर्माण गरिएको एक हजार क्षमताको होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगमा आउन सकेको छैन । त्यहाँ निर्माण गरिएका ६० वटा भवन प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् ।
महामारीका बेला सङ्क्रमितलाई सुरक्षित रूपमा राख्न र उपचार व्यवस्थापन गर्न निर्माण गरिएको होल्डिङ सेन्टरमा आइसोलेसन कक्ष, शौचालय, भण्डार, भान्सा र भोजन कक्षलगायत संरचना छन् । नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको चार बिघा १३ धुर सरकारी जग्गामा निर्माण गरिएको उक्त सेन्टर सञ्चालनमा आउनुअघि नै कोरोना सङ्क्रमण नियन्त्रणमा आएको थियो ।
होल्डिङ सेन्टरको उपयोग हुन नसक्दा सार्वजनिक सम्पत्ति खेर जाने अवस्था आएको भन्दै नागरिक अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सङ्घीय सरकार मातहत रहेका संरचनालाई तत्काल उपयोगमा ल्याउनुपर्ने माग गरेका छन् ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले महामारी अन्त्य भएको लामो समय बितिसक्दा पनि होल्डिङ सेन्टरको वैकल्पिक उपयोगबारे सरकारले निर्णय गर्न नसकेको बताए । नियमित प्रयोग र मर्मतसम्भार नहुँदा भवन तथा अन्य भौतिक संरचना जीर्ण बन्दै गएको उनले बताए ।
‘समयमै संरक्षण र व्यवस्थापन गर्न नसके करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचना पूर्ण रूपमा प्रयोगविहीन हुने अवस्था आउन सक्छ,’ श्रेष्ठले भने ।
नागरिक अगुवा हेमन्तराज काफ्लेले पनि महामारीका बेला आपत्कालीन आवश्यकताका लागि निर्माण गरिएका संरचना सङ्कट टरेपछि बेवारिसे जस्तै बन्नु सार्वजनिक सम्पत्ति व्यवस्थापनको कमजोरी भएको बताए । करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका भवन प्रयोगमा आउन नसक्दा राज्यको लगानी र योजनाको प्रभावकारितामाथि प्रश्न उठेको उनले बताए ।
महामारीपछि होल्डिङ सेन्टरको सुरक्षा तथा रेखदेखको जिम्मेवारी नेपाली सेनाको बज्रदल गण, राँझाले सम्हाल्दै आएको छ । सङ्घीय सरकारले यसको स्वामित्व र भविष्यबारे निर्णय नगरेपछि सेनाले संरक्षण गर्दै आएको हो ।
सेनाले होल्डिङ सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरेर आवश्यकताअनुसार अन्य सार्वजनिक प्रयोजनमा उपयोग गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर, सङ्घीय सरकारले स्वामित्व हस्तान्तरण तथा व्यवस्थापनसम्बन्धी निर्णय नगर्दा यसको सञ्चालन र उपयोगबारे अन्योल कायम रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पनि होल्डिङ सेन्टरलाई वैकल्पिक प्रयोजनमा उपयोग गर्ने विषयमा छलफल भइरहेको बताए । उनले उक्त संरचनालाई लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए ।
एक हजार क्षमताको होल्डिङ सेन्टरलाई स्वास्थ्य सेवा विस्तार, विपद् व्यवस्थापन, उपचार तथा पुनःस्थापना केन्द्रलगायत सार्वजनिक प्रयोजनमा उपयोग गर्न सकिने स्थानीय सरोकारवालाहरूको भनाइ छ । तर, करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको संरचनाको भविष्यबारे सङ्घीय सरकारले निर्णय नगर्दा यसको उपयोग अझै अनिश्चित बनेको छ ।










Discussion about this post