बाँके, असोज २८ गते ।
मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। मधुवन नगरपालिकामा गठित स्थानीय मानव बेचबिखन नियन्त्रण समिति (एलसीसीएचटी) को बैठकमा सहभागीहरूले बेचबिखनका जोखिम पहिचान, सूचना आदानप्रदान, सचेतना अभिवृद्धि र नियमित अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
बाँके युनेस्को क्लब (बीयूसी) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजनाको सहकार्यमा आयोजित बैठकले समितिको कार्ययोजनाको प्रगति समीक्षा गर्दै आगामी गतिविधिलाई नतिजामुखी बनाउने विषयमा छलफल गरेको छ।
मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, समितिका सदस्य सचिव इन्द्रा चुनारा, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सैलेन्द्र खड्का, माइती नेपाल, साना हात तथा बाँके युनेस्को क्लबका प्रतिनिधिको सहभागिता थियो। क्लबका परियोजना संयोजक ईश्वर बीके र गोविन्दप्रसाद लामिछाने तथा फिल्ड सुपरभाइजर सावित्रा भाट पनि बैठकमा सहभागी थिए।
बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक बीके र लामिछानेले सुरक्षा परियोजना तथा सेफ फ्युचर परियोजनाअन्तर्गत सञ्चालित गतिविधि, हालसम्मको प्रगति र मानव बेचबिखन रोकथामका लागि भइरहेका प्रयासबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले समुदायस्तरमा सचेतना अभिवृद्धि, जोखिममा रहेका समुदायसँग सहकार्य, समुदाय–प्रहरी साझेदारी, युवा दूत परिचालन र बाल संरक्षण प्रवद्र्धनका गतिविधिबारे जानकारी गराएका थिए।
समितिको कार्ययोजना कार्यान्वयन र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि प्रस्तुतीकरणमा जोड दिइएको थियो।
बैठकमा समितिको कार्ययोजनाको प्रगति समीक्षा, समुदाय–प्रहरी साझेदारीमार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन, सूचना केन्द्रको नियमित अनुगमन तथा सीमावर्ती क्षेत्रका समुदायमा देखिन सक्ने बेचबिखनका जोखिम पहिचान र न्यूनीकरणका उपायबारे छलफल भएको थियो।
सहभागीहरूले मानव बेचबिखन नियन्त्रण कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी नभएको बताए। स्थानीय सरकार, सुरक्षा निकाय, समुदाय, समिति र विकास साझेदारबीच सहकार्य तथा सूचना आदानप्रदान प्रभावकारी बनाउन सके रोकथामका प्रयासलाई परिणाममुखी बनाउन सकिने उनीहरूको भनाइ थियो।
बैठकमा कार्यक्रम सञ्चालन र सहभागितालाई मात्र उपलब्धिको आधार नबनाई त्यसले समुदायमा पारेको प्रभावसमेत मूल्यांकन गर्नुपर्ने विषय उठाइएको थियो। जोखिममा रहेका बालबालिका तथा व्यक्तिसम्म आवश्यक सूचना पुगेको अवस्था र सूचना केन्द्रको प्रभावकारिताबारे नियमित अनुगमन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
त्यस्तै, स्थानीयस्तरमा प्राप्त सूचना तथा सम्भावित जोखिमलाई समयमै सम्बन्धित निकायसम्म पु¥याउने, सचेतनामूलक अभियानलाई निरन्तरता दिने र संयुक्त अनुगमनलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले मानव बेचबिखनसँगै लागुऔषध दुव्र्यसन पनि समाजको जटिल समस्याका रूपमा देखिएको बताए। यस्ता समस्या नियन्त्रणका लागि सबै सरोकारवाला गम्भीर र सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
उनले समुदायस्तरमा प्रभावकारी निगरानी समूह गठन गरी परिचालन गर्नुपर्नेमा जोड दिए। मानव बेचबिखन तथा लागुऔषध कारोबारमा संलग्न मुख्य सञ्जाललाई नै तोड्ने गरी समन्वयात्मक र परिणाममुखी अभियान सञ्चालन गर्नुपर्ने उनले बताए।
स्थानीय सरकार, सुरक्षा निकाय, समुदाय र सम्बन्धित संघसंस्थाबीच सहकार्य तथा सूचना आदानप्रदान प्रभावकारी बनाउन सके सामाजिक विकृति नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने न्यौपानेले बताए।
बैठकको समापन गर्दै उपप्रमुख चौधरीले मानव बेचबिखन रोकथामका लागि सबै सरोकारवालाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताइन्। उनले स्थानीय सरकार, समिति, सुरक्षा निकाय, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै रोकथामका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
बैठकले समितिको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने, सूचना केन्द्र तथा सीमावर्ती समुदायको संयुक्त अनुगमनलाई प्राथमिकता दिने र बेचबिखनसम्बन्धी जोखिम पहिचान तथा सम्बोधनमा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाले बालबालिका, परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारको क्षमता सुदृढ गर्दै मानव बेचबिखन रोकथाम र बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्दै आएको छ।











Discussion about this post