बाँके, मंसिर ११ गते ।
नेपालगन्जस्थित भेरी अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि एउटा मेसिन थपिएको छ। नेपालगन्जकी समाजसेवी निशात अफजल इराकीले अस्पताललाई उक्त मेसिन सहयोग गरेकी हुन्।
मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले उनले करिब १४ लाख रुपैयाँ मूल्यको डायलाइसिस मेसिन उपलब्ध गराएकी हुन्। नेपाली बजारमा उक्त मेसिनको मूल्य करिब १४ लाख रुपैयाँ रहेको अस्पतालले जनाएको छ।
पछिल्लो समय भेरी अस्पतालमा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा डायलाइसिस मेसिन थपिँदा बिरामीलाई सेवा दिन सहज हुने अस्पतालका चिकित्सक डा. पारस श्रेष्ठले बताए।
उनले डायलाइसिस सेवा मिर्गौलाका बिरामीका लागि अत्यावश्यक रहेको बताउँदै मेसिन थपिएपछि अस्पतालको सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘पछिल्लो समय मिर्गौलाका बिरामीको संख्या बढिरहेको छ। यस्तो अवस्थामा एउटा मेसिन थपिनुले डायलाइसिस सेवा सञ्चालन गर्न र बिरामीलाई उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई सहयोग गर्नुभएकोमा सहयोगदाताप्रति आभार व्यक्त गर्दछौँ।’
केही दिनअघि अस्पतालमा ल्याइएको उक्त मेसिन शुक्रबार सहयोगदाता इराकीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालको रोहबरमा डायलाइसिस युनिटलाई हस्तान्तरण गरेकी हुन्।
डा. पारस श्रेष्ठको समन्वयमा भएको मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, डा. संकेत रिसाल, डा. सौरभसिंह हमाललगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो।











Discussion about this post