बाँके, असोज ३० गते ।
दसैँ नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी र अध्ययनका लागि पुगेका नेपाली घर फर्किने क्रम बढेको छ । बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट पछिल्लो समय दैनिक करिब १० हजार नेपाली स्वदेश फर्किरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्दका अनुसार गत सातासम्म दैनिक पाँचदेखि छ हजार नेपाली फर्किने गरेकामा यो साता सङ्ख्या बढेर करिब १० हजार पुगेको हो ।
“गत सातासम्म यो नाकाबाट दैनिक पाँचदेखि छ हजारसम्म नेपाली स्वदेश फर्किरहेका थिए भने यो साता दैनिक करिब १० हजार जना फर्किरहेका छन्,” उनले भने ।
चन्दका अनुसार पछिल्लो सात दिनमा मात्रै जमुनाह नाका हुँदै ७० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । दसैँ नजिकिँदै जाँदा घर फर्किनेको सङ्ख्या अझै बढ्न सक्ने सुरक्षा निकायको अनुमान छ ।
भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली दसैँ मनाउन परिवारसँग भेटघाट गर्न घर फर्किरहेका छन् । लामो समय परिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू फर्किन थालेपछि सीमावर्ती क्षेत्रमा चहलपहल बढेको छ ।
भारतसँग सीमा जोडिएको जमुनाह नाका पश्चिम नेपालका नागरिकको आवागमनको प्रमुख प्रवेशद्वार हो । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि भारत जाने र चाडपर्वमा यही नाका हुँदै घर फर्किने गर्छन् ।
दसैँ मनाउन स्वदेश फर्किनेको सङ्ख्या बढेसँगै जमुनाह नाकामा सुरक्षा जाँच कडा पारिएको छ । यात्रुको आवागमन सहज बनाउने र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निगरानी बढाइएको एसपी चन्दले बताए ।
उनका अनुसार यात्रुको सुरक्षा जाँचमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ । चाडपर्वमा यात्रुको भीडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई थप सतर्क बनाइएको उनले बताए ।
भारतबाट घर फर्किने नेपालीले विगतमा सीमावर्ती क्षेत्रमा लुटपाट, ठगी र अन्य समस्याको सामना गर्नुपरेका घटनालाई ध्यानमा राखेर यस वर्ष जमुनाह नाकामा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सहायता कक्षमार्फत यात्रुलाई गन्तव्यसम्म पुग्न आवश्यक सूचना र सहयोग उपलब्ध गराइनेछ । समस्यामा परेका यात्रुलाई सहजीकरण गर्ने तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने लुटपाट र ठगीबाट जोगाउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको उनले बताए ।
लामो दूरीको यात्रा गरेर स्वदेश फर्किने यात्रु अपरिचित व्यक्ति तथा यातायातलगायतका सेवाका नाममा ठगीमा पर्न सक्ने भएकाले उनीहरूलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराइने तामाङले बताए ।
उनका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ ।
सीमाबाट हुने अवैध सामानको ओसारपसार, लागूऔषध तस्करी, हातहतियारको अवैध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकाय परिचालन गरिएको उनले बताए ।
यात्रुको आवागमन सहज बनाउने, शङ्कास्पद गतिविधिमाथि निगरानी राख्ने, सुरक्षा जाँच प्रभावकारी बनाउने र सुरक्षा निकायबीच समन्वय बढाउने काम भइरहेको प्रशासनले जनाएको छ ।
“नागरिकको सुरक्षा र यात्रुको सहजतालाई प्राथमिकतामा राखेर सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिएको छ,” प्रमुख जिल्ला अधिकारी तामाङले भने ।
दसैँ नजिकिँदै जाँदा जमुनाहा नाकाबाट घर फर्किने नेपालीको सङ्ख्या बढिरहेको छ । यात्रुको सुरक्षा, ठगी नियन्त्रण र सहज आवागमनका लागि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था तथा यात्रु सहायता सेवालाई थप प्रभावकारी बनाइएको प्रशासनले जनाएको छ ।













Discussion about this post