रुकुम, कात्तिक १७ गते ।
डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार कात्तिक १४ गते बिहान डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
कात्तिक १७ गते बिहान करिब १०ः३० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको पौडेलले बताए ।
चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच जनाको टोलीले खोली बगरबाट राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गरेको थियो । सोही क्रममा भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोधपुछ र पहिचानका क्रममा दुवै जना डोल्पा कारागारबाट फरार कैदी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रहेको प्रहरीले जनाएको छ ।












Discussion about this post