बाँके, कात्तिक १८ गते ।
बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी रोकिएको छैन । प्रहरीले अवैध उत्खनन र ढुवानीमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गर्दै आए पनि यस्तो गतिविधि जारी रहेको पाइएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध उत्खनन तथा ढुवानीमा संलग्न २० वटा टिपर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । ती सवारीसाधनमाथि कारबाही गर्दा एक लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार साउनमा चारवटा सवारीसाधन नियन्त्रणमा लिएर १६ हजार रुपैयाँ जरिवाना गरिएको थियो । भदौमा आठवटा सवारीसाधन कारबाहीमा परेका थिए । तीबाट ४१ हजार रुपैयाँ जरिवाना असुल गरिएको थियो ।
असोजमा पनि आठवटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको राठौरले बताए । असोजमा मात्रै ९० हजार रुपैयाँ जरिवाना असुल भएको उनले जानकारी दिए ।
‘अवैध उत्खनन तथा ढुवानीमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिरहेका छौँ,’ उनले भने, ‘तर, यस्तो गतिविधि अझै रोकिएको छैन ।’
तीन महिनाको तथ्यांकअनुसार साउनको तुलनामा भदौ र असोजमा नियन्त्रणमा लिइएका सवारीसाधनको संख्या दोब्बर पुगेको छ । जरिवाना रकम पनि साउनको १६ हजार रुपैयाँबाट बढेर असोजमा ९० हजार रुपैयाँ पुगेको छ ।
नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले नदीको प्राकृतिक बहाव, तटीय क्षेत्र र वातावरणमा असर पार्ने जोखिम रहेको सरोकारवालाले बताएका छन् । उनीहरूले अवैध उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन र कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने बताए । ‘सवारीसाधन नियन्त्रणमा लिएर जरिवाना गर्दैमा अवैध उत्खनन रोकिन्न,’ उनले भने, ‘उत्खनन हुने स्थान, त्यसको स्रोत र ढुवानी प्रक्रियामाथि पनि निगरानी बढाउनुपर्छ ।’
उनले प्रहरी, स्थानीय तह र सम्बन्धित सरकारी निकायबीच समन्वय गरेर अवैध उत्खननमा संलग्नमाथि प्रभावकारी कारबाही गर्नुपर्ने बताए ।










Discussion about this post