काठमाडौें, कात्तिक १८ गते ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णयसमेत गरेको छ।
सरकारले मुलुकको वर्तमान परिस्थितिमा शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त पद सिर्जना गरेको हो। सोही निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको छ।
कार्की उक्त जिम्मेवारीमा गएपछि रिक्त भएको प्रहरी महानिरीक्षक पदमा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम बढुवा गरिएको हो। केसीको बढुवा कात्तिक १८ गतेदेखि लागू हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।










Discussion about this post