बाँके, कात्तिक १९ गते ।
बाँकेमा लागुऔषधको अवैध कारोबार तथा ओसारपसारका घटना बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा प्रहरीले चार किलोभन्दा बढी ब्राउनसुगर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार साउन र भदौ महिनामा तीन किलो १० ग्राम ४०२ मिलिग्राम तथा असोज महिनामा एक किलो १७९ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । तीन महिनामा बरामद ब्राउनसुगरको कुल परिमाण चार किलो १९० ग्राम १५२ मिलिग्राम पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले साउन र भदौ महिनामा ब्राउनसुगरसँगै चरेश, अफिम, गाँजा तथा प्रतिबन्धित औषधिसमेत बरामद भएको बताए ।
उनका अनुसार उक्त दुई महिनामा ३०८ ग्राम ५७० मिलिग्राम चरेश, १३ किलो ६८४ ग्राम अफिम, एक किलो ९९३ ग्राम ५८० मिलिग्राम गाँजा, १४ लिटर कोरेक्स, पाँच हजार ३४२ ट्याबलेट नाइट्रोजेपाम र ४३ हजार १९९ क्याप्सुल ट्रामाडोल बरामद भएको छ ।
प्रहरीका अनुसार पछिल्लो समय प्रतिबन्धित औषधि ट्रामाडोलको बरामद मात्रा पनि उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ३४८ र आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार १४३ क्याप्सुल ट्रामाडोल बरामद भएको थियो । तर चालु आर्थिक वर्षको साउन र भदौ महिनामै ४३ हजार १९९ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
असोज महिनामा पनि लागुऔषध बरामदको मात्रा उल्लेख्य देखिएको छ । उक्त महिनामा मात्रै एक किलो १७९ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर, ३२ किलो ५२० ग्राम गाँजा, २० ट्याबलेट नाइट्रोजेपाम र ४२० क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।
उनले बाँकेको खुला सीमा, सीमावर्ती क्षेत्रमा हुने ठूलो संख्याको आवतजावत र सीमापारि लागुऔषध सहजै उपलब्ध हुने अवस्थाले जिल्लामा यसको अवैध कारोबारको जोखिम बढाएको बताए ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीको कारबाही मात्र पर्याप्त नहुने नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, कारोबारमा संलग्न सञ्जालको पहिचान गर्ने, युवालाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा लागुऔषध प्रयोगकर्ताका लागि उपचार र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले लागुऔषधविरुद्ध प्रहरी कारबाही भइरहेको देखाए पनि बरामद परिमाण र प्रतिबन्धित औषधिको बढ्दो कारोबारले नियन्त्रणका लागि थप प्रभावकारी पहल आवश्यक रहेको श्रेष्ठले बताए ।










Discussion about this post