बाँके फगुन ५ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा शनिवारदेखि महिला स्वास्थ्य शिविर सुरु भएको छ । वडा कार्यालयको सहयोग तथा जनसेवा फार्मेसीको आयोजनामा दुई दिने शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा खासगरी महिलाहरुको पाठेघरको मुखको क्यान्सरको चेकजाँच गरिएको वडा अध्यक्ष गोपाल पुनले बताए । पहिलो दिन शनिवार २३६ जनाले सेवा लिएका छन् । तीमध्ये १० जनामा पोजेटिभ देखिएको पनि वडा अध्यक्ष पुनले बताए । उनका अनुसार पछिल्लो समय महिलाहरुमा क्यान्सरको समस्या भयावह बन्दै गएको भन्दै स्वास्थ्य चेकजाँच गर्न सुझाव दिए ।
केही दिन अघि क्यान्सरकै कारण वडामा कार्यरत एक जना महिला कर्मचारी गुमाउनु परेको स्मरण गरेका उनले आफ्नो स्वास्थ्यबारे सचेत रहन आग्रह गरे । वडा नं.४ ले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ । उनले स्वास्थ्यमा स्थानीयको सहज पहुँच स्थापनाका लागि वडा चनाखो रहेको बताए ।
उनले केही दिनपछि वृहत स्वास्थ्य शिविरको तयारीमा वडा कार्यालय रहेको पनि जानकारी दिए । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रपनि आफ्नै वडामा रहेकाले नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । उक्त सहरी केन्द्रमा एमडी फिजिसियन सहितको ल्याव सेवा रहेको छ ।













Discussion about this post