बाँके बैशाख २६ गते ।
वैशाखको अन्तिमसम्म आउँदा बाँकेसहित तराईका जिल्लामाहरुमा अत्याधिकरुपमा गर्मी बढेको छ । अप्रत्याशितरुपमा गर्मी बढेपछि बाँकेलगायत आसपासका जिल्लाको जनजीवन कष्टकर बनेको छ । त्यसमा पनि आजभोली बाँकेलगायतका तराईका जिल्लाहरुमा दिउँसोको समयमा बाहिर निस्कनै नसकिने गरी गर्मी बढेको हो ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागमा केहि स्थानमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने जनाएको छ । बाँकेलगायतका जिल्लामा चर्को गर्मीसहित तातो हावा (लु) चल्न शुरु गरेको छ ।
गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी मर्कामा परेको नेपालगञ्जका स्थानीय बिष्णु कुमाल बताउँछन् । उनले चर्को घाम र तातो हावाले बालबालिका र वृद्धवृद्धाहरुलाई सकेसम्म बाहिर जानबाट जोगाउनुपर्ने बताए ।
तराईका जिल्लाहरुमा चर्को घामसँगै तातो हावा चल्न शुरु गरेपछि दिउँसो घरबाट बाहिर निस्कनै नसकिने अवस्था आएको बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टीका स्थानीय कोइली चौधरीले बताए ।
गर्मीका कारण सेवाग्राहीको संख्या घटेको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । ‘पहिलेको तुलनामा आज भोली काम लिएर आउनेको संख्या कम भएको छ,’ उनले भने, ‘अत्यावश्यक कामका लागि मात्र सेवाग्राही आइरहेका छन् ।’
गर्मीका कारण स्वास्थ्य संस्थामा बिरामीहरुको चाप समेत बढ्न थालेको छ । डुडुवाको विभिन्न स्वास्थ्य कार्यालयमा अरु दिनको तुलनामा हाल बिरामीको चाप बढेको डुडुवाको स्वास्थ्य शाखाले जनाएको छ ।
तराईका जिल्लाहरुमा चर्को घाम र तातो हावा चलेका बेला सकेसम्म बाहिर ननिस्किन आम नागरिकलाई डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माको सुझाव छ । कामका लागि बाहिर निस्कनै परे शरीर पुरै छोप्ने गरी कपडा लगाएर, छाता ओढेर र झोलिलो चिज प्रसस्त मात्रामा सेवन गरेर मात्र हिँड्न उनको आग्रह छ । गर्मीको समयमा अरु व्यवसायको व्यापार घटेपनि जुसजन्य पदार्थको व्यापार भने बढको छ ।













Discussion about this post