बाँके, कात्तिक २१ गते ।
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाबाटै जग्गा पास, कित्ताकाट र नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ। गाउँपालिकाले बिहीबारदेखि आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएपछि जग्गासम्बन्धी कामका लागि जिल्ला सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको छ।
गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी छुट्टै शाखा स्थापना गरेर जग्गा पास, कित्ताकाट, नामसारीलगायत सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए। स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा लिन भोग्नुपर्ने झन्झटसमेत अन्त्य हुने उनले बताए।
‘अब नरैनापुरका नागरिकले जग्गासम्बन्धी कामका लागि नेपालगन्ज धाउनुपर्ने अवस्था अन्त्य भएको छ,’ अध्यक्ष शाहले भने, ‘गाउँपालिकाबाटै सेवा पाउँदा स्थानीयलाई सहज हुनेछ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभरका ३४औँ शाखाका रूपमा नरैनापुरमा भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सञ्चालन गरिएको बताए। आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन मिलाएर सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगिने उनले बताए।
सेवा शुभारम्भकै दिन पहिलो सेवाग्राहीका रूपमा नरैनापुर–५ का विनय दीक्षित र नरैनापुर–४ का अर्का सेवाग्राहीलाई लालपुर्जा वितरण गरिएको थियो। गाउँपालिकाबाटै लालपुर्जा पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन्।
नरैनापुर–५ का दीक्षितले लालपुर्जा लिन नेपालगन्ज पुगेर सास्ती खेप्नुपर्ने बाध्यता हटेको बताए। गाउँमै भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुनु स्थानीयका लागि ठूलो सहजता भएको उनले बताए।
भौगोलिक विकटता र सहज यातायात पहुँचको अभावका कारण नरैनापुर लामो समय विकास तथा सरकारी सेवा सुविधाको पहुँचबाट पछाडि परेको थियो। पछिल्लो समय सडक सञ्जाल विस्तारसँगै नरैनापुर जिल्ला सदरमुकाम नेपालगन्जसँग जोडिँदै गएको छ। गाउँपालिकामै भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुनुलाई स्थानीयले सरकारी सेवा विकेन्द्रीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।










Discussion about this post