रोल्पा असार २ गते ।
मगर समुदायमा भूम्या पर्वको रौनक छ । भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गर्ने चलन छ । जमिनको पूजा गरेमा प्राकृतिक प्रकोपबाट धनजनको क्षति र अनिष्ट नहुनुका साथै अन्नबाली सप्रिने विश्वास छ । प्राकृतिक प्रकोपबाट धनजनको क्षति भएमा भूम्या देउता रिसाएको भन्ने मान्यता छ ।
त्यसैले पनि मगर समुदायमा भूम्या पर्वको ठुलो महत्व रहँदै आएको छ । भूमि थानमा पूजा गरिसकेपछि विभिन्न बाजासहित नाचगान गरी पाँच दिनसम्म भूम्या पर्व मनाउने गरिन्छ । यो पर्वमा युवा युवती, बुढाबुढी सयौँ व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । अथार मगरात क्षेत्रका मातृभाषा मगर खामपाङ बोल्ने मगर जातिले परापूर्वकालदेखि नै आफ्नो जातीको ठुलो चाडका रुपमा भुम्या पर्व मान्दै आएका छन् ।
जीविकोपार्जनका लागि वन, जङ्गल, खानी आदिहरूमा प्रकृतिसँग जुझ्दै जीवनयापन गर्ने क्रममा अधिकांश समय वनजङ्गलमै बसेको सम्झनामा हरेक वर्षको असार महिनाको १ गतेलाई भुम्या पर्वका रुपमा मनाउँदै आएका छन् । वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैं सुखी र खुसी हुने धार्मिक विश्वसलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगरले बताए ।
रोल्पाको थबाङ, सुनछहरी, परिवर्तन गाउँपालिका साथै पूर्वी रुकुमका सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न गाउँमा परापूर्वकालदेखि नै धुमधामका साथ त्यहाँका मगर समुदायले मनाउँदै आएका छन् । भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, रुकुम, दाङ र प्यूठानमा मगर समुदायका लागि सार्वजनिक बिदा दिएको छ ।
Discussion about this post