बाँके असार १९ गते ।
इस्लाम धर्मावलम्वीको पवित्र पर्व मोहर्रमलाई मध्यनजर गरि नेपालगन्जमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । बाँके प्रहरीले स्थलगतसँगै ड्रोनबाट निगरानी गरिरहेको बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
उनले सम्वेदनशील स्थलको पहिचान गरि विहीवारदेखि ड्रोनबाट निगरानी गरिरहेको बताए । ‘मोहर्म पर्वलाई सभ्य, भब्य र शान्तिपूर्ण बनाउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘सांघुरो गल्ली र जनघनत्व भएको ठाउँमा ड्रोनबाट निगरानी भइरहेको छ ।’
मोहर्मलाई लक्षित गरि बाँके प्रहरीले तीन सय बढि प्रहरी परिचालन गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । सुरक्षा ब्यवस्था मिलाउन डिएसपी पातली आफू पनि मैदानमा खटिएका छन् । डिएसपी पातलीको नेतृत्वमा विहीवार ड्रोनबाट निगरानी गरिएको हो । ‘मोहर्म पर्वमा कुनै अप्रिय घटना हुन नदिन रातको समयमा समेत हामी नगरका विभिन्न भागमा खटिन्छौँ,’ उनले भने, ‘अवाञ्छित गतिविधि हुन नदिन सम्वेदनशील क्षेत्रमा ड्रोनबाट निगरानी गरिरहेका छौँ ।’
विहीवार मोहर्मको सातौँ दिनसम्म कुनै अवाञ्छित गतिविधि नभएको बताउँदै उनले दिनमा भन्दा रातको समयमा प्रहरी चनाखो भएर लागेको बताए । ‘मोहर्मको ताजियालाई सुरक्षित गर्न र अप्रिय घटना हुन नदिन प्रहरी सजग छ,’ डिएसपी पातलीले भने ।
मोहर्मलाई शान्तिपूर्ण बनाउन नगरमा सशस्त्र प्रहरी पनि परिचालन भएको उनले बताए । नेपाल प्रहरीसँगै नेपालगन्जका विभिन्न भागमा सशस्त्र प्रहरीले पनि निगरानी गरिरहेको उनको भनाई छ । ‘अहिलेसम्म एकदमै सद्भावपूर्ण रुपमा मोहर्म मनाउने कार्य भइरहेको छ,’ उनले भने, ‘अन्तिम दिनसम्म सवैको साथ र सहयोग रहने अपेक्षा गरेका छौँ ।’
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल गरि नेपालगन्जमा चार सय बढि सुरक्षाकर्मी परिचालन भएको बताए । अन्तिम दिनको रातमा झनै चनाखो भएर प्रहरीले गस्ती गर्ने उनको भनाई छ ।
मोहर्मलाई ब्यवस्थित बनाउन बाँके प्रहरी प्रमुख एसपी घर्तीमगर समेत नगरका विभिन्न भागमा पुग्ने गरेको डिएसपी पातलीले बताए । ‘नगरको अवस्था बुझ्न रातको समयमा एसपी साव समेत नगरको विभिन्न भागको निरीक्षण गर्नुहुन्छ । सजग र सतर्क भएर सुरक्षा ब्यवस्था मिलाउन एसपी सावको कडा निर्देशन छ,’ उनले भने ।
Discussion about this post