दाङ साउन ६ गते ।
दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग व्यवसायमा करिव दुई अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा एक अर्ब ८६ करोड ३१ लाख नौ हजार दुई सय ५९ रुपियाँ लगानी भएको हो ।
जसमा घरेलु तथा साना उद्योगतर्फ ८० करोड ४७ लाख ७८ हजार दुई सय ५९ रुपियाँ र वाणिज्यतर्फ एक अर्ब पाँच करोड ८३ लाख ३१ हजार रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । सूचना अधिकारी पौडेलका अनुसार जिल्लामा एक वर्षका अवधिमा चार सय ४९ वटा घरेलु उद्योग र पाँच सय ७९ वाणिज्यतर्फ फर्म दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा चार सय ४४ वटा उद्योग र पाँच सय ५५ वटा वाणिज्य फर्म बन्द (लागत कट्टा गरिएको ) भएका छन् । एक हजार ७४ वटा घरेलु तथा साना उद्योग र एक हजार तीन सय ५९ फर्म नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार जिल्लामा कृषि, जडिबुटीलगायतका साना उद्योगहरू थपिएका छन् ।
लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेर ऋणमा फसेको, विदेश जानु पर्ने भएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउने गरेको सूचना अधिकारी पौडेलले भन्नुभयो,‘जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने र बन्द गर्नेको वार्षिक तथ्याङ्क हेर्दा एकै खाले देखिन्छ । व्यवसायिक क्षेत्रमा खास्सै उत्साह देखेको छैन ।’













Discussion about this post