बाँके असोज १९ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत विभिन्न धर्म र समुदायबीच द्वन्द्व सिर्जना हुने खालका भ्रामक सामग्री प्रसारण हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रहरीले प्रेस विज्ञप्तिमा केही व्यक्तिहरूले संक्रमणकालीन परिस्थितिको अनुचित लाभ उठाउँदै सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, भ्रमपूर्ण स्टाटस प्रकाशित–प्रसारित गर्ने र समाजमा अशान्ति फैलाउने खालका गतिविधि गर्दै आएको पाइएकाले यस्ता कार्य रोक्न सबैलाई सचेत गराएको छ। विज्ञप्तिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी दीपक पातलीले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, दंगा फैलाउने कार्य भइरहेको पाइएकाले उल्लिखित कार्य गर्ने, गराउने जोकोहीलाई कानुनअनुसार कारबाही हुने भएकाले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सम्पूर्ण नागरिक र सञ्चार माध्यमलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।” प्रहरीले यस्ता भ्रामक समाचार र अफवाहका कारण समाजमा अशान्ति फैलिन सक्ने भन्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।













Discussion about this post