बाँके असोज ३० गते ।
चाडपर्वको मौसमसँगै बाँकेमा सुरक्षा सतर्कता कडा पारिएको छ । तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्लाभर कडाइका साथ सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बाँकेका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक पातलीले जानकारी दिए । उनका अनुसार तिहारमा हुने आतसबाजीका कारण हुन सक्ने आगलागी र सवारी दुर्घटनाको जोखिमलाई न्यून गर्न विशेष रणनीति बनाइएको छ ।
त्यसैगरी, लागुऔषधको अवैध कारोबार, चोरी तथा जुवातास जस्ता अपराध नियन्त्रणमा पनि प्रहरीले विशेष ध्यान दिएको छ ।“पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन हामीले नियमित चेकजाँचलाई थप प्रभावकारी बनाएका छौँ,” डीएसपी पातलीले भने, “आवश्यक ठाउँमा थप प्रहरी पोष्ट स्थापना गरिएको छ र संयुक्त चेकजाँच पनि सुरु भइसकेको छ।” तिहार र छठका बेला यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले बताए ।
जिल्लामा सवारी साधनको अत्यधिक आवागमन हुने ठाउँमा प्रहरीको विशेष टोली खटाइएको छ । ट्राफिक नियमको पूर्ण पालना गराउन सवारी चालकलाई सचेत गराउने अभियान पनि सञ्चालन गरिएको छ । यात्रुको सहजताका लागि बाँकेका विभिन्न स्थानमा ४ वटा यात्रु सहायता कक्षा स्थापना गरिएको छ, जसले यात्रुलाई आवश्यक जानकारी र सहयोग प्रदान गर्नेछ । डीएसपी पातलीका अनुसार जिल्लाभर करिब १२ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
नेपाल प्रहरीका अन्य युनिटबाट मात्रै ३ सय बढी प्रहरी थप गरी सुरक्षा व्यवस्था सुदृढ बनाइएको हो । सम्भावित जोखिम क्षेत्रलाई प्रहरी निगरानीमा राखिएको छ र नियमित पेट्रोलिङ समेत बढाइएको छ । तिहार र छठजस्ता सामूहिक पर्वका बेला धार्मिक सद्भाव कायम रहोस् भन्ने उद्देश्यले पनि प्रहरी विशेष सतर्क रहेको छ । विभिन्न समुदायबीच आपसी समझदारी र सहकार्यलाई प्रवद्र्धन गर्न प्रहरी र स्थानीय समुदायबीचको समन्वय बढाइएको छ । “ सामाजिक तनाव उत्पन्न गर्ने व्यक्ति वा समूहमाथि कडा कारवाही गरिनेछ,” डीएसपी पातलीले चेतावनी दिए । उनले जोखिम क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको पनि बताए ।
उनले सबै नागरिकलाई चाडपर्व शान्तिपूर्ण, सुरक्षित र आपसी सद्भावका साथ मनाउन आग्रह गरे । सीमानाकाबाट हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि प्रहरी चनाखो रहेको उनले बताए । त्यहाँ तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच हुँदै आएको उनले उल्लेख गरे । यस्तै तिहार मनाउन घर फर्किरहेका नेपालीहरुलाई सहजता आवागमनका लागि जमुनाह नाकामा यात्रु सहायता कक्षा राखिएको उनले उल्लेख गरे ।
बाँके प्रहरीको सक्रियता र योजनाबद्ध तयारीले यस वर्षको तिहार र छठ पर्व सुरक्षित र सौहार्दपूर्ण माहोलमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।













Discussion about this post