बाँके चैत ३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै सुर्खेत रोडअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक खण्डमा रहेका अतिक्रमित संरचना हटाउन समयसीमा तोकेको हो।
सूचनाअनुसार सडकको दुवैतर्फ नालाको बाहिरी किनारबाट सात फिट क्षेत्रभित्र निर्माण गरिएका टहरा, होर्डिङ बोर्डलगायत अनधिकृत संरचना १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले उक्त सडक खण्डमा दुई मिटर चौडा फुटपाथ निर्माण तथा वृक्षारोपण योजना कार्यान्वयन गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन अल्टिमेटम जारी गरिएको जानकारी दिए।
उनले तोकिएको समयभित्र अतिक्रमण हटाउन सबै सरोकारवालालाई आग्रह गर्दै अन्यथा उपमहानगरपालिकाले आफैं हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने बताए। साथै, अतिक्रमण हटाउँदा लाग्ने खर्चसमेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम सम्बन्धित पक्षबाट असुलउपर गरिने उनले जानकारी दिए।
यसअघि पनि नेपालगन्जको विपी चोकदेखि धम्बोझी चोकसम्मको क्षेत्रमा अतिक्रमण हटाउन दिइएको अल्टिमेटम बेवास्ता भएपछि उपमहानगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाएको थियो। हाल सो क्षेत्रमा फुटपाथ निर्माण तथा वृक्षारोपण कार्य जारी रहेको जनाइएको छ।
उता स्थानीयवासीले भने एकीकृत मापदण्ड बनाएर मात्र संरचना निर्माण गर्न दिनुपर्ने माग गरेका छन्। पटक–पटक अतिक्रमण भन्दै हस्तक्षेप गर्दा क्षति बेहोर्नुपरेको उनीहरूको गुनासो छ।
नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले एउटै मापदण्ड लागू गरी सोहीअनुसार संरचना निर्माण गर्न दिनुपर्ने र बारम्बार अतिक्रमण भन्दै हटाउने कार्य उचित नभएको बताए।













Discussion about this post