बाँके चैत २१ गते ।
बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान जयपाल मौर्यले यस वर्ष आठ सय क्विन्टल आलुको बिउ उत्पादन गर्न सफल भएका छन् ।
गत वर्ष राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित ४३ वर्षीय मौर्यले १०१ कठ्ठा जमिनमा आलुको बिउ खेती गरी उल्लेख्य उत्पादन हासिल गरेको जानकारी दिए । दुई दशकदेखि कृषिमा सक्रिय रहेका उनले यस वर्ष उत्पादन अपेक्षाभन्दा राम्रो भएको बताए ।
उनका अनुसार उत्पादन गरिएको बिउ स्थानीय तहद्वारा निर्माण गरिएको कोल्ड स्टोरमा भण्डारण गरिएको छ । उन्नत जातको ‘कार्डिनल’ आलु ठूलो क्षेत्रफलमा खेती गरिएकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको उनले बताए । अघिल्लो वर्ष सीमित क्षेत्रफलमा लगाइएको उक्त जात यस वर्ष विस्तार गरिएकाले राम्रो उत्पादन सम्भव भएको उनको भनाइ छ ।
आलु खेतीमा करिब पाँच लाख रुपैयाँ लगानी भएको उल्लेख गर्दै मौर्यले रोपाइँको सिजनमा कोल्ड स्टोरबाट बिउ निकालेर प्रतिकिलो ३५ देखि ५५ रुपैयाँसम्म बिक्री हुने जानकारी दिए । यसबाट करिब १२ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
किसानहरूका अनुसार कात्तिक मसान्तदेखि मङ्सिरसम्म रोपिएको आलुको बिउ उत्पादन हुन ९० देखि १२० दिन लाग्ने गर्दछ । कोल्ड स्टोरमा बिउ भण्डारण गर्दा प्रतिकिलो चार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ । डुडुवासँगै कोहलपुर क्षेत्रमा पनि कोल्ड स्टोर सुविधा उपलब्ध रहेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार उन्नत जातको पीबीएस दानाबाट बिउ उत्पादन गरिएको हो, जसले यस वर्ष राम्रो परिणाम दिएको छ ।
त्यस्तै, कृषि ज्ञान केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले गुणस्तरीय आलु बिउ उत्पादनका लागि किसानले तालिम लिनु आवश्यक रहेको बताए । उनका अनुसार सिन्धुपाल्चोकबाट ल्याइएको पीबीएस दानाबाट बाँकेमा सन्तोषजनक उत्पादन भइरहेको छ ।
हाल जिल्लामा उत्पादन भएको आलुको बिउ ग्रेडिङ गर्ने कार्य भइरहेको छ । हिरमिनियाका किसान मौर्यका अनुसार करिब एक सातादेखि ग्रेडिङ प्रक्रिया जारी रहेको छ ।











Discussion about this post