बाँके, साउन १७ गते ।
बाँकेमा यस वर्ष ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा धान खेती हुँदै आएको ३३ हजार ७ सय ८० हेक्टरमध्ये हालसम्म ३१ हजार ४ सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।
पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि रोपाइँले गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सिंचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने आकाशे पानीमा निर्भर रहेका केही क्षेत्रमा मात्रै रोपाइँ बाँकी छ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार सिक्टा सिंचाइ आयोजनाको कमान्ड क्षेत्रसहित अन्य सिंचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ पूरा गरिसकेका छन्। पछिल्लो समय भएको पर्याप्त वर्षाले रोपाइँमा उल्लेख्य प्रगति भएको उनले बताए।
बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु हुने र भदौ पहिलो सातासम्म चल्ने गरेको छ। यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले रोपाइँ पनि केही ढिलो सुरु भएको थियो। तर, पछिल्ला दिनमा भएको वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि किसानलाई रोपाइँ गर्न सहज भएको हो।
कृषि ज्ञान केन्द्रका अनुसार अब करिब ६.९६ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ गर्न बाँकी छ। मौसम अनुकूल रहँदै नियमित वर्षा भए साउनभित्रै बाँकी क्षेत्रफलमा पनि रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।










Discussion about this post