कपिलवस्तु, कात्तिक १ गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा लामखुट्टे धपाउन गोठमा बालिएको आगोबाट दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा पाँचवटा गोठ जलेर नष्ट भएका छन्। आगलागीमा एक भैँसीको पाडा जलेर मरेको छ भने पाँचवटा पशुचौपाया घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहका अनुसार शुक्रबार राति विजयनगर गाउँपालिका–१ नौरङ्गियामा ५६ वर्षीय सहिम मुसलमानको गोठमा राति करिब ११ः२० बजे आगलागी भएको थियो। लामखुट्टे धपाउन बालिएको आगोबाट सुरु भएको आगलागी फैलिएर अन्य तीन जनाका गोठमा समेत क्षति पुगेको हो।
आगलागीबाट सहिम मुसलमानको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। उनको गोठमा रहेको एउटा गोरु घाइते भएको छ। त्यसैगरी जम्मे मुसलमानको गोठमा रहेको एउटा भैँसीको पाडा जलेर मरेको छ भने एउटा भैँसी र एउटा गोरु घाइते भएका छन्। गोलहई मुसलमान र मकगुल मुसलमानका गोठसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
यसैगरी, विजयनगर गाउँपालिका–४ देउपुरामा ६४ वर्षीय जहुर हसेत मुसलमानको गोठमा पनि आगलागी भएको छ। शुक्रबार राति करिब ११ः३० बजे लामखुट्टे भगाउन बालिएको धुवाँबाट आगो सल्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट काठले बनेको र फुसले छाएको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। गोठमा रहेका आठ बाख्रामध्ये दुईवटा जलेर घाइते भएका छन् भने एउटा कुखुरा जलेर मरेको छ। उक्त घटनामा करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
दुवै स्थानमा आगलागी भएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको सिंहले बताए। उनका अनुसार नौरङ्गियामा लागेको आगो शनिबार बिहान १ः३० बजे र देउपुरामा लागेको आगो राति १२ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
दुवै घटनामा लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ।









Discussion about this post