बाँके, मंसिर ५ गते ।
कोहलपुर नगर क्षेत्रमा बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न परिवर्तनशील युवा क्लबले सडकमा अधिकतम गति सीमा २० किलोमिटर प्रतिघण्टा कायम गर्न माग गरेको छ ।
क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक कनकबहादुर शाहीलाई निवेदन बुझाउँदै कोहलपुरको न्यू रोडदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको पूर्वी गेटसम्म, एनटिभी रोडलगायत टाउन प्लानिङ क्षेत्रका सडकमा २० किलोमिटर प्रतिघण्टाको गति सीमा निर्धारण गर्न माग गरेको हो ।
क्लबका अध्यक्ष आदित्य बस्यालले बजार क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति बढेको र त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कारबाही नहुँदा दुर्घटनाको जोखिम बढेको बताए ।
उनले अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको प्रहरीको विश्लेषणले समेत गति नियन्त्रण आवश्यक देखाएको बताए ।
‘बजार क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ । गति नियन्त्रण नहुँदा दुर्घटनाको जोखिम पनि बढिरहेको छ,’ उनले भने, ‘नागरिकको सुरक्षाका लागि सडकमा गति सीमा कायम गर्न आवश्यक छ ।’
क्लबका पदाधिकारीले निवेदन बुझाउँदै नगरभित्रका सडकमा गति सीमा उल्लेख गरिएका संकेत बोर्ड राख्न, नियमित ट्राफिक निगरानी गर्न र तोकिएको सीमाभन्दा बढी गतिमा सवारी चलाउनेमाथि कडाइका साथ नियम कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
निवेदन बुझ्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक शाहीले क्लबले उठाएको माग कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष बस्याल, उपाध्यक्ष प्रशान्त खत्री र सल्लाहकार विक्रम ओलीले संयुक्त रूपमा प्रहरीलाई मागबारे जानकारी गराउँदै सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीवनरक्षाका लागि सम्बन्धित निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताए ।
अध्यक्ष बस्यालले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दुर्घटना हुनुअघि नै सावधानी अपनाउनुपर्ने बताए ।
‘सडक सुरक्षित बनाउने जिम्मेवारी हामी सबैको हो । दुर्घटना भएपछि पछुताउनुभन्दा दुर्घटना हुनुअघि नै सावधानी अपनाउनु आवश्यक छ,’ उनले भने ।
क्लबले कोहलपुरका व्यस्त सडक तथा टाउन प्लानिङ क्षेत्रमा गति सीमा निर्धारण गरी प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।










Discussion about this post