दाङ, कात्तिक १७ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवामा लगानी बढाउने बताएका छन्।
नेपाल नेत्रज्योति सङ्घले मंगलबार दाङको लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आँखा उपचार सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए।
सङ्घले तयार पारेको पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनलाई पनि प्रदेश सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।
सङ्घको अध्ययनअनुसार लुम्बिनी प्रदेशमा ५० वर्ष वा सोभन्दा माथिका १३ हजार ९४ जना अन्धोपनबाट प्रभावित छन्। उक्त उमेर समूहमा दुवै आँखाको अन्धोपनको दर १.७ प्रतिशत रहेको अध्ययनले देखाएको छ। यस्तै, ६/१२ भन्दा कम दृश्य तीक्ष्णता भएका दुई लाख सात हजार ९५७ जना रहेको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनले विशेषगरी ग्रामीण तथा विपन्न समुदायमा आँखा उपचार सेवाको पहुँच असमान रहेको औँल्याएको छ। दक्ष जनशक्तिको अभाव र उपचारपछि बिरामीको नियमित अनुगमन गर्ने प्रणाली कमजोर रहेको पनि प्रतिवेदनले देखाएको छ।
यसैगरी, लुम्बिनी प्रदेशका पाँच र कर्णाली प्रदेशको एक गरी छवटा अस्पतालमा गरिएको कार्बन उत्सर्जनसम्बन्धी अध्ययनले अस्पताललाई वातावरणमैत्री बनाउन वैकल्पिक ऊर्जाको प्रयोग बढाउन सुझाव दिएको छ।
अध्ययनले अस्पतालमा बायोग्यास, इन्डक्सन र सौर्य ऊर्जाको प्रयोग बढाउनुपर्ने निष्कर्ष निकालेको छ।










Discussion about this post