बाँके, कात्तिक २० गते ।
धनतेरसको अवसरमा नेपालगन्जको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेको घुइँचो लागेको छ। तिहारको सुरुवातसँगै चहलपहल बढेको बजारमा शुक्रबार बिहानैदेखि उपभोक्ताको भीड लागेको हो।
धनतेरसलाई लक्षित गर्दै नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडक नै बजारमा परिणत भएको छ। सडकको दुवैतर्फ र बीच भागमा अस्थायी पसल सञ्चालनमा आएपछि उक्त क्षेत्र किनमेल गर्नेहरूको आकर्षण बनेको छ।
सडकमा राखिएका पसलमा भाँडाकुँडा, पूजा सामग्री, माटाका दियो, तामा, पित्तल, स्टिलका सामग्री तथा घरायसी सामान बिक्रीका लागि राखिएका छन्। ग्राहकहरू आफ्नो आवश्यकता र बजेटअनुसार सामान छनोट गर्न व्यस्त देखिन्छन्।
धनतेरसका दिन नयाँ भाँडाकुँडा तथा धातुका सामग्री खरिद गर्दा शुभ हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ। यही विश्वासका कारण यस दिन सुन, चाँदी, तामा, पित्तल र स्टिलका सामग्री खरिद गर्ने परम्परा रहिआएको छ।
तिहारलाई लक्षित गरी व्यापारीहरूले सडकमा अस्थायी पसल सञ्चालन गरेका हुन्। एउटै क्षेत्रमा विभिन्न प्रकारका सामग्री उपलब्ध भएपछि उपभोक्तालाई पनि किनमेल गर्न सहज भएको छ।
नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म हरेक वर्ष तिहारका बेला अस्थायी बजार लाग्ने गर्छ। धनतेरसदेखि तिहारका मुख्य दिनसम्म सञ्चालन हुने यस्ता बजारले स्थानीय व्यापारमा चहलपहल बढाउनुका साथै चाडपर्वको रौनक थप्ने गरेको छ।
धनतेरसको किनमेलका कारण सडक क्षेत्र उपभोक्ताले भरिभराउ देखिएको छ। तिहार नजिकिँदै गर्दा नेपालगन्जका अन्य बजारमा समेत किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ।











Discussion about this post