काठमाडौं, मंसिर २ गते ।
नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
राष्ट्रिय राजनीतिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्न र स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गरिएको एमालेले जनाएको छ । भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौं आइसकेको पार्टीले जानकारी दिएको छ ।
एमालेका उपमहासचिव लेखराज भट्टले भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल हुने बताए । पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा कामका विषयमा पनि भेलामा छलफल हुने उनले जानकारी दिए ।
भेलाका एजेन्डा सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ । भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार भेलालाई अध्यक्ष ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलाबाट पार्टीको आगामी राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका निर्णयको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको निर्वाचनको तयारीबारे साझा धारणा बनाउने एमालेको अपेक्षा छ ।











Discussion about this post