बाँके, मंसिर १ गते ।
राष्ट्रिय जनमत पार्टीले आगामी स्थानीय तह निर्वाचनमा बाँकेका आठवटै पालिकामा उम्मेदवारी दिने घोषणा गरेको छ।
पार्टीको पहिलो स्थापना दिवसका अवसरमा मंगलवार नेपालगन्जमा आयोजित कार्यक्रममा पार्टीका संरक्षक इरफान अहमद शेषले यस्तो घोषणा गरेका हुन्। उनले बाँकेबाट सुरु भएको पार्टीलाई देशव्यापी बनाउने अभियानमा आफूहरू लागेको बताए।
पार्टीका केन्द्रीय अध्यक्ष रियाज अहमद शेषको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक इरफान अहमद शेष प्रमुख अतिथि थिए। कार्यक्रममा केन्द्रीय महासचिव राज सिंह सरदार, उपाध्यक्ष राजेन्द्र गुप्ता, केन्द्रीय सदस्यहरू अब्दुल गफुर खान, जोया शेष, किताबुन निशा, रामनिवास साहु र राजेश वर्मालगायत सहभागी थिए। स्थापना दिवसका अवसरमा केक काटेर खुसीयाली मनाइएको थियो।
कार्यक्रममा बोल्दै संरक्षक शेषले बाँकेका नागरिकको अधिकारका लागि राष्ट्रिय जनमत पार्टी स्थापना गरिएको बताए। विगतमा विभिन्न राजनीतिक दल भए पनि बाँकेका नागरिकको समस्या र अधिकारका सवालमा आवाज उठाउने दलको अभाव देखेर नयाँ पार्टी गठन गरेको उनको भनाइ थियो।
‘हामीले यो पार्टी बाँकेका लागि मात्रै स्थापना गरेका होइनौँ। यसलाई राष्ट्रिय स्तरको पार्टी बनाएर देखाउने संकल्प गरेका छौँ। त्यसैले पार्टीको नाम राष्ट्रिय जनमत पार्टी राखेका हौँ,’ उनले भने।
उनले राज्यबाट पछाडि पारिएका, उत्पीडनमा परेका र अन्य राजनीतिक दलबाट उपेक्षित नागरिकको पक्षमा पार्टीले काम गर्ने बताए। पहुँच नभएका नागरिक, किसान, मजदुर, रिक्सा चालक र गरिब वर्गको हकअधिकारका लागि पार्टीले संघर्ष गर्ने उनको भनाइ थियो।
‘किसानमाथि समस्या पर्दा, मजदुरले अधिकार नपाउँदा र गरिब नागरिक अन्यायमा पर्दा ठूला राजनीतिक दलहरू अगाडि आएनन्। त्यसैले उनीहरूको अधिकारका लागि लड्न हामीले पार्टी स्थापना गरेका हौँ,’ उनले भने।
शेषले एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विपन्न नागरिक तथा किसानका समस्या समाधानमा अपेक्षित भूमिका खेल्न नसकेको आरोप लगाए। नागरिकको अधिकारका लागि आफू नेतृत्वको पार्टीले निरन्तर आवाज उठाउँदै आएको उनको दाबी थियो।
उनले भ्रष्टाचार र अन्यायविरुद्ध उभिने बताए। भ्रष्टाचार गर्ने व्यक्ति जुनसुकै पक्षको भए पनि पार्टीले विरोध गर्ने उल्लेख गर्दै उनले पार्टीको चुनाव चिह्न बुलडोजर राख्नुको उद्देश्यसमेत अन्याय र भ्रष्टाचारविरुद्धको अभियान भएको बताए।
‘जहाँ अन्याय हुन्छ, त्यहाँ हामी बुलडोजर लिएर पुग्छौँ। भ्रष्टाचार गर्ने जोसुकै भए पनि त्यसको विपक्षमा उभिन्छौँ,’ उनले भने।
स्थापना दिवसकै अवसरमा पार्टीले बाँकेका २३ वटै वडामा वडा इन्चार्जसमेत घोषणा गरेको छ। संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यले वडा इन्चार्ज तोकिएको शेषले बताए।
उनले आगामी स्थानीय तह निर्वाचनमा बाँकेका आठवटै पालिकामा पार्टीले उम्मेदवार उठाउने जानकारी दिए। बाँकेबाट सुरु भएको पार्टीलाई देशभर विस्तार गर्ने अभियानमा नेता तथा कार्यकर्ता परिचालन गरिने उनले बताए।










Discussion about this post