बाँके मंसिर १० गते ।
लुम्बिनी प्रदेश सरकारलाई स्थायी राजधानीका लागि आवश्यक जग्गा र संरचनाको स्वामित्व हस्तान्तर गर्ने प्रक्रिया सुरु भएको छ । योसँगै हिउँदे अधिवेशन स्थायी राजधानीमै गर्ने तयारी प्रदेश सरकारको छ । दाङको मौरीघाटमा रहेको राप्ती प्रादेशिक शिक्षालयले उपभोग गर्दै आएको भौतिक संरचना र उस्को स्वामित्वमा रहेको जमिन प्रदेश सरकारलाई हस्तान्तरण गर्न शिक्षालय तयार भएपछि हिउँदे अधिवेशन स्थायी राजधानीमा बस्ने पक्का जस्तै भएको हो ।
शिक्षालयले संचालन गर्ने विभिन्न शैक्षिक कार्यक्रमहरु राप्ती र गढवा गाउँपालिकामा स्थानान्तरण गर्ने सहमति भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताउनुभयो । प्रदेशका सभामुख, कानुनमन्त्री, प्रदेशसभा सदस्यको टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरेपछि भएको विभिन्न सम्वद्ध सरोकारवालाको सर्वपक्षिय र सर्वदलिय बैठकले शिक्षालयको १८ विघा जमिन र भौतिक संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
शिक्षालयका अध्यक्ष समेत रहनुभएका दाङका सिडिओ जयनारायण आचार्यले सम्पूर्ण प्रतिवेदन तयार पारेर संघमा पठाइसकेको र प्रदेश सरकारको आग्रह अनुसार, प्रदेश विकास प्राधिकरणको कार्यालय राख्न शिक्षालयको हाताभित्र दुईवटा भवन उपलब्ध गराइएको जानकारी दिनुभयो । अस्थायी मुकामबाट सारेर पुनः अस्थायी रुपमा संसद बैठक तथा अधिवेशन र सरकारको काम गर्दा अनुपयुक्त हुने भएकाले स्थायीरुपमै स्वामित्व लिएर काम अगाडी बढाउने प्रदेश सरकारको तयारी छ ।
शिक्षालयको स्वामित्वमा रहेको जग्गा हस्तान्तरणको लागि संघीय मन्त्रीपरिषदबाट निर्णय हुनु पर्ने भएकाले केही ढिला हुने भएपनि हिउँदे अधिवेशनका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको प्रदेश सदस्य थारुले बताउनुभयो। असोज ३० गते बसेको प्रदेशसभा बैठकले नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गरेको थियो ।
Discussion about this post