बाँके माघ २४ गते ।
केही दिनयता पुनः सक्रिय भएको शीतलहर र बाक्लो हुस्सुका कारण नेपालगन्जबाट सञ्चालन हुने हवाई उडान प्रभावित भएका छन्।
शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण आवश्यक भिजिबिलिटी नपुग्दा दिउँसो २ः३० बजेसम्म कुनै पनि हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जले जनाएको छ।
नेपालगन्ज विमानस्थल टावरका अनुसार जहाज उडाउन (टेक अफ) का लागि कम्तीमा एक हजार मिटर र अवतरण (ल्यान्डिङ) का लागि एक हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। बिहानैदेखि भिजिबिलिटी अत्यन्तै कम रहेकाले दिउँसो साढे दुई बजेसम्म उडान ठप्प भएको टावरले जानकारी दिएको छ।
आवश्यक भिजिबिलिटी पुगेपछि मात्र विमानस्थल सञ्चालनमा आउने र त्यसपछि उडान सुरु हुने जनाइएको छ। बिहानदेखि उडान नहुँदा सयौँ यात्रु विमानस्थलमा अलपत्र परेको विभिन्न एयरलाइन्सले बताएका छन्।
शनिबार काठमाडौँबाट बिहान ८ः४५ बजे बुद्ध एयरले पहिलो उडान गर्ने कार्यतालिका रहे पनि दिउँसो २ः४५ बजेसम्म उडान हुन नसकेको बुद्ध एयर नेपालगन्जका प्रमुख विनीत शाहले जानकारी दिए। उनका अनुसार मौसम प्रतिकूलताका कारण नेपालगन्ज र काठमाडौँ दुवै विमानस्थलमा यात्रु प्रभावित भएका छन्।
पछिल्ला केही दिनदेखि नेपालगन्जको मौसम प्रतिकूल बन्दा काठमाडौँ तथा पहाडी जिल्लातर्फका उडानहरू नियमित हुन सकेका छैनन्। नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरले चार र यति एयरलाइन्सले दुई वटा दैनिक उडान गर्दै आएका छन् भने यहाँबाट पहाडी तथा हिमाली जिल्लामा समेत उडान हुने गर्छ।
उडान समयमै नहुँदा टिकट लिएका यात्रुले समस्या झेल्नुपरेको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताए।













Discussion about this post