दाङ फागुन ५ गते ।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्ला सभापतिसँग स्पष्टीकरण माग गरेको छ।
दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) (एमाले) को झन्डा जलाएको तथा सो पार्टीका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको विषयमा आयोगमा सूचना तथा उजुरी प्राप्त भएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आयोगद्वारा पठाइएको स्पष्टीकरणपत्रमा रास्वपाका तर्फबाट आयोजित चुनावी कार्यक्रममा एमालेका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी भएको हो वा होइन भन्ने विषयमा २४ घण्टाभित्र आयोगको इमेल ठेगानामा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
आयोगले कुनै पनि दलको झन्डा जलाउने तथा अन्य दलका व्यक्ति वा नेतृत्वविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गर्ने कार्य निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने स्मरण गराएको छ। आचारसंहिताको दफा ४ को खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै पनि स्वरूपमा उत्पादन, प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था गरिएको छ।
यसैगरी, आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ङ) मा कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने उल्लेख गरिएको छ।













Discussion about this post