बाँके चैत १२ गते ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य गतिविधिको उच्चस्तरीय अनुगमन तथा अवलोकन गरिएको छ ।
अनुगमनका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा सञ्चालित तातो हावा सम्बन्धी कार्यक्रमको प्रस्तुतिकरण गरिएको थियो । साथै, नेपालगन्ज उपमहानगरपालिका र रेडक्रसबीचको सहकार्यमा सञ्चालन भएका गतिविधिबारे अन्तरक्रिया, कुलिङ सेन्टरको अवलोकन तथा समुदायस्तरमा भएका कार्यक्रमहरूको स्थलगत अनुगमन पनि गरिएको जनाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले तातो हावा पनि प्रमुख विपद् जोखिममध्ये एक भएको उल्लेख गर्दै नेपालगन्जमा विगत केही वर्षदेखि सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिलाई नमुना अभ्यासका रूपमा लिइएकोमा सन्तोष व्यक्त गरे । उनले प्राधिकरणले यस्ता जोखिम न्यूनीकरणका लागि योजनाबद्ध ढंगले काम गरिरहेको बताए ।
अनुगमनमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि टोली प्रमुख डेविट फिसर, सहसचिव अमृत श्रेष्ठ, उपसचिव राजेन्द्र शर्मा, उपसचिव सुरेश सुनार, अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, कार्यक्रम संयोजक उपमा ओझा तथा रेडक्रस केन्द्रका उपनिर्देशक अमरमणि पौडेललगायतको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले हालसम्म सञ्चालन भएका तातो हावाको असर न्यूनीकरणसम्बन्धी गतिविधिबारे प्रस्तुति गरेका थिए ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले रेडक्रससँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरूले समुदायस्तरमा सकारात्मक प्रभाव पारेको बताए ।
कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, रेडक्रस बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समितिका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।












Discussion about this post