बाँके, भदौ १ गते ।
नागपञ्चमी पर्व सोमबार नागको पूजाआजा गरी मनाइँदैछ। यस अवसरमा घरको मूलढोकामाथि नागको तस्वीर टाँस्ने तथा दूध, अक्षता, दुबो, धूप, दीप, खीर र रोटीलगायतका सामग्री चढाएर नागदेवताको पूजा गर्ने परम्परा छ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौ १ गते परेको हो। धार्मिक मान्यताअनुसार घरको मूलढोकामा नागको तस्वीर टाँस्दा नाग, सर्प तथा बिच्छीजस्ता जीवबाट हुने भयका साथै अग्नि, मेघ र चट्याङबाट समेत सुरक्षा हुने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। पानी र वर्षासँग नागलाई जोडेर हेर्ने भएकाले वर्षा र समृद्धिका लागि नागको पूजा गर्ने परम्परा बसेको धार्मिक विश्वास छ।
नागलाई भगवान् शिव र विष्णुसँग समेत जोडेर हेर्ने गरिन्छ। शिवले नागको माला धारण गर्ने तथा विष्णु शेषनागको शय्यामा शयन गर्ने धार्मिक मान्यता छ। श्रीकृष्णले कालीनागको दमन गरेको प्रसंग तथा लक्ष्मण र बलरामलाई शेषनागको अवतार मानिने उल्लेख पनि धार्मिक ग्रन्थमा पाइन्छ।
नागपञ्चमीसँग किसान र नागिनीसम्बन्धी विभिन्न किंवदन्ती पनि जोडिएका छन्। नागका बच्चा मारेपछि क्रुद्ध भएकी नागिनीले किसानको परिवारलाई क्षति पु¥याएको र किसानकी छोरीले नागिनीको पूजा गरी दूध चढाएपछि परिवारलाई पुनर्जीवन दिएको कथन प्रचलित छ। यही घटनाको सम्झनामा नागपूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको पूजा गर्ने चलन छ। नागको तस्वीर घरमा टाँसेपछि खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ।
काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा गरिन्छ। श्रद्धालुले नागदेवतालाई दूध, अक्षता, दुबो, खीर, रोटी तथा अन्य परिकार चढाउने गर्छन्।
नागपञ्चमीलाई धार्मिक आस्थासँगै प्रकृतिमा सर्प तथा अन्य सरिसृपको महत्व सम्झाउने पर्वका रूपमा पनि लिइन्छ। सर्पले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नागपूजाको परम्पराले यस्ता जीवप्रति संरक्षण र सहअस्तित्वको सन्देशसमेत दिने गरेको छ। नागपञ्चमीसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको याम सुरु हुने मान्यता छ।












Discussion about this post