बाँके वैशाख ११ गते ।
बाँकेको खजुरा क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। खजुरा गाउँपालिका–६ स्थित प्रतिक्षालय क्षेत्रबाट प्रहरीले २७५ ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय धनौली र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीले जानकारी दिए।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका–५ निवासी २६ वर्षीय अजिजुल रहमान खाँ रहेका छन्। प्रहरीका अनुसार खाँको साथबाट ७ थान मोबाइल फोन, भारतीय नम्बर प्लेट भएको थार गाडी तथा ७० हजार ९ सय रुपैयाँ नगद बरामद गरिएको छ।
स्थानीयका अनुसार खाँ लामो समयदेखि खजुराको प्रतिक्षालय र गोदहाना क्षेत्रमा बसेर नेपालगञ्जका लागुऔषध प्रयोगकर्तालाई लागुऔषध आपूर्ति गर्दै आएका थिए। गोप्य सूचनाका आधारमा प्रहरीले कारोबार स्थलमै पुगेर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका खाँविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।











Discussion about this post