बाँके जेठ १ गते ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको नेपालगञ्ज वितरण केन्द्रले विद्युत् महसुल बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ ।
नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार गत पाँच महिनामा लामो समयदेखि महसुल नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको विद्युत् लाइन काटिएको छ । लाइन काटिएपछि चार हजार ५०० ग्राहकले बक्यौता रकम भुक्तानी गरी पुनः लाइन जडान गराएका छन् ।
उनका अनुसार लाइन पुनः जडान प्रक्रियामार्फत केन्द्रले करिब पाँच करोड रुपैयाँ बक्यौता रकम असुल गर्न सफल भएको छ । काटिएका लाइनबाट उठ्न बाँकी रकम करिब छ करोड ३० लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।
केन्द्र प्रमुख मिश्रले लामो समयसम्म महसुल नबुझाउने ग्राहकविरुद्ध लाइन काट्ने अभियान निरन्तर सञ्चालन भइरहेको बताए । विद्युत् आपूर्ति सुधार, चुहावट नियन्त्रण तथा अनियमितता रोक्न अनुगमनलाई समेत तीव्र बनाइएको उनले उल्लेख गरे ।
विद्युत् प्रयोग गरेबापतको महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै तोकिएको अवधिभित्र बिल नतिर्ने ग्राहकविरुद्ध अब स्वचालित रूपमा कारबाही हुने उनले बताए । समयमै बिल भुक्तानी गर्ने बानी विकास गर्न अभियान प्रभावकारी बनेको उनको भनाइ छ ।
नेपालगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणका लागि मिटर अनुगमन, हुकिङ तथा मिटरमा गडबडी गर्ने ग्राहकको निगरानीलाई समेत निरन्तरता दिएको छ । सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गरी सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन भइरहेको केन्द्रले जनाएको छ ।
सेवा सुधार र चुहावट नियन्त्रण अभियानका कारण पछिल्ला महिनामा बाँकेमा विद्युत् आपूर्तिमा सुधार आएको केन्द्र प्रमुख मिश्रले दाबी गरे । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाले गर्मीयाममा पनि आपूर्ति अवरुद्ध नहुने अवस्था बनेको उनले बताए ।
नेपालगञ्ज वितरण केन्द्रको नो–लाइट शाखामार्फत विभिन्न महत्त्वपूर्ण स्थानमा नाङ्गो तार विस्थापन गरी केबुल विस्तारको काम भइरहेको छ । नियमित मर्मत तथा अनुगमनका कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण र सेवा प्रवाहमा थप सुधार आएको केन्द्रको भनाइ छ ।










Discussion about this post