बाँके, जेठ ८ गते ।
महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १३, बुलबुलियामा एक महिने सिलाइ–कटाइ तालिम सुरु गरिएको छ।
त्रिनेत्र समृद्ध नेपाल, बाँकेको आयोजना तथा लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन डिभिजन कार्यालय, कोहलपुर बाँकेको सहयोगमा सञ्चालन गरिएको तालिमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले पानसमा बत्ती बालेर गरेकी हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य काफ्लेले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता सीपमूलक तालिम अत्यन्त प्रभावकारी हुने बताइन्। उनले तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै आयआर्जनका अवसर सिर्जना गरी आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरिन्।
त्यसैगरी पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेका लेखा अधिकृत धर्मराज लामिछानेले तालिमपछि सहभागी महिलाहरूले व्यावहारिक सीप हासिल गरी स्वरोजगारतर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थाकी सल्लाहकार रेखा गुप्ता, जसपा नेपालका जिल्ला सचिव सूर्यलाल यादव लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन तारा ओलीले गरेकी थिइन् भने कार्यक्रम संस्थाकी अध्यक्ष शुशिला पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
आयोजक संस्थाका अनुसार तालिमले महिलाहरूलाई व्यवहारिक तथा आयमूलक सीप प्रदान गर्दै स्वरोजगार, आर्थिक आत्मनिर्भरता तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post