बाँके, जेठ ११ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाभर सवारीसाधनमाथि निगरानी र कडाइ बढाएको छ । विशेषगरी नम्बर प्लेट मेटिएका, अस्पष्ट भएका तथा नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले जेठ ९ गतेदेखि सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार दुर्घटना न्यूनीकरण तथा सवारीसाधनको पहिचान सहज बनाउन नम्बर प्लेट स्पष्ट नरहेका सवारीसाधनलाई नियन्त्रणमा लिएर पुनः नम्बर लेख्न लगाउने कार्य भइरहेको छ ।
उनका अनुसार अभियानअन्तर्गत ट्याक्टर, मोटरसाइकल, इ–रिक्सा, अटो लगायत १७६ भन्दा बढी सवारीसाधनमा नम्बर प्लेट स्पष्ट बनाउने काम गरिएको छ ।
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका वरिष्ठ प्रहरी नायब निरीक्षक ओमबहादुर खडकाले नम्बर प्लेट मेटिँदा सवारीसाधन पहिचान गर्न कठिन हुने, दुर्घटना वा ट्राफिक नियम उल्लंघनका घटनामा अनुसन्धान प्रभावित हुने भएकाले यस्तो अभियानलाई तीव्र बनाइएको बताए ।
उनले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारीसाधनको अवस्था नियमित रूपमा जाँच गर्न तथा सुरक्षित यात्रामा ध्यान दिन आग्रह समेत गरे ।
बाँके ट्राफिक प्रहरीले पछिल्लो समय सडक सुरक्षा अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, चालक प्रशिक्षण, हेल्मेट तथा सीटबेल्ट प्रयोगसम्बन्धी अभियान समेत सञ्चालन गरिरहेको जनाएको छ ।
प्रहरीले नागरिकको सहयोग, जिम्मेवारी र सचेतनाबाट मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न सबैमा आग्रह गरेको छ ।










Discussion about this post