बाँके, साउन १८ गते ।
भारतबाट फर्किने नेपाली यात्रुले रुपैडिहास्थित रोडवेज बसपार्कमा ई–रिक्सा चालकको मनपरीका कारण सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। बस रोकिएलगत्तै यात्रुलाई तानातान गर्ने, सामान जबर्जस्ती उठाउने, गालीगलौज गर्ने र मनपरी भाडा असुल्ने गरेको उनीहरूको आरोप छ।
भारतको शिमलाबाट फर्किएका जाजरकोट, ढिमेका नन्दलाल विकका अनुसार बसपार्कमा यात्रु ओर्लिन नपाउँदै ई–रिक्सा चालकहरू झम्टिने गर्छन्। ‘सामान खोसेझैँ गरेर उठाउँछन्। आफूले चाहेको सवारी चढ्न पनि दिँदैनन्,’ उनले भने, ‘यसले सीमा क्षेत्रमा असुरक्षा बढेको महसुस हुन्छ।’
जयपुरबाट फर्किएका सल्यान, कपुरकोटका रामसिंह धामीले पनि बस रोकिएलगत्तै चारैतिरबाट ई–रिक्सा चालकले घेर्ने गरेको बताए। उनका अनुसार यात्रुलाई जबर्जस्ती तान्ने क्रममा धक्का–मुक्की हुने र केही यात्रु घाइतेसमेत भएका छन्। कतिपय चालक यात्रुको अनुमति नलिई बसभित्रै प्रवेश गरेर झोला तथा ब्याग ई–रिक्सामा राखिदिने गरेको यात्रुको गुनासो छ।
रुपैडिहा बसपार्कबाट हरिद्वार, शिमला, दिल्ली, जयपुर, कानपुर, लखनउ, मुम्बई, आगरा, मथुरा, गोवा र गुजरातलगायत भारतका विभिन्न सहरमा दैनिक रोडवेज बस सञ्चालन हुन्छन्। ती बसबाट ठूलो संख्यामा नेपाली यात्रु आवतजावत गर्छन्।
यात्रुको चाप बढ्ने समयमा सवारी चढाउने प्रतिस्पर्धा उग्र बन्दा धक्का–मुक्की, सामान तानातान, गालीगलौज र कहिलेकाहीँ हातपातसम्म हुने गरेको यात्रुको भनाइ छ। भीडभाडको फाइदा उठाउँदै यात्रुको सामान हराउने गरेको गुनासोसमेत आउने गरेको उनीहरूले बताएका छन्।
समस्या बढेपछि रोडवेज डिपो प्रशासनले स्थानीय प्रहरीलाई जानकारी गराएको जनाएको छ। रुपैडिहा प्रहरी थानाका प्रभारी निरीक्षक हरेन्द्रकुमार मिश्रले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बिहानको समयमा बसपार्कमा दुई जना प्रहरी परिचालन गर्ने बताएका छन्।
रोडवेज डिपोका प्रभारी रामप्रकाशका अनुसार ई–रिक्सा चालकको व्यवहारबारे यसअघि पनि स्थानीय प्रहरीलाई पटक–पटक जानकारी गराइएको थियो। यात्रुको चाप हुने समयमा प्रहरी परिचालन नहुँदा समस्या दोहोरिँदै आएको उनले बताए।
रुपैडिहा बजारका स्थानीय नबी अहमदले पनि यात्रुको चाप हुने समयमा बसपार्कमा नियमित प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने बताए।











Discussion about this post