बाँके, भदौ ४ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि चिरञ्जीवी ओली नेतृत्वको संयुक्त प्यानलले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
‘व्यावसायिक एकता, सहकार्य र पारदर्शिता : बाँकेको आर्थिक समृद्धि नै हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्यानलले संघको सुदृढीकरणदेखि औद्योगिक विकास, व्यवसाय प्रवद्र्धन, उद्यमशीलता र व्यवसायीको हितसम्मका विषयलाई प्रतिबद्धतामा समेटेको हो।
संघको नयाँ नेतृत्व चयनका लागि भदौ ६ गते निर्वाचन हुँदैछ। संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले विगतका निर्वाचनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गरी व्यवसायीबीच एकता कायम गर्न सर्वसम्मत् नेतृत्व चयनको प्रयास गरिएको बताए।
उनका अनुसार निर्वाचनमा प्यानलबीच प्रतिस्पर्धा हुँदा निर्वाचित भएपछि पनि कार्यसमिति पक्ष र विपक्षमा विभाजित हुने अवस्था देखिँदै आएको छ। यसले संघको गरिमा र प्रभावकारितामा असर परेको भन्दै यसपटक एकताबद्ध नेतृत्व निर्माणको प्रयास गरिएको उनले बताए।
‘सर्वसम्मत् नेतृत्व पद बाँडफाँडका लागि मात्रै होइन,’ उनले भने, ‘संघका कमीकमजोरी हटाउँदै सबै वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गरेर संघलाई सबैको साझा र विश्वसनीय संस्था बनाउने उद्देश्य हो।’
संघको सदस्यता विस्तारदेखि विधान संशोधनसम्म
संयुक्त प्यानलले बाँकेका सबै स्थानीय तहमा पालिकास्तरीय उद्योग वाणिज्य संघ गठन गर्ने प्रतिबद्धता जनाएको छ। पालिका अध्यक्षलाई जिल्ला कार्यसमितिको पदेन सदस्यका रूपमा प्रतिनिधित्व गराउने र ‘मेरो संघ, मेरो सदस्यता’ अभियानमार्फत जिल्लाका बढीभन्दा बढी उद्योगी–व्यवसायीलाई संघमा आबद्ध गराउने जनाएको छ।
नयाँ सदस्यले मतदानमा सहभागी हुन कम्तीमा एक वर्षअघि फर्म दर्ता गरेको हुनुपर्ने र पुराना सदस्यले मतदाता बन्न निरन्तर तीन वर्ष फर्म नवीकरण गरेको हुनुपर्ने व्यवस्था गर्ने प्रतिबद्धता छ। सदस्यतासम्बन्धी व्यवस्थाका लागि विधान संशोधन गर्ने पनि प्यानलले जनाएको छ।
नौबस्ता औद्योगिक क्षेत्र र क्षेत्रीय विमानस्थल
प्यानलले नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि सरकारसँग दबाब र पहल गर्ने जनाएको छ। सरकारले शिलान्यास गरेको लामो समय बितिसक्दा पनि पूर्वाधार निर्माण अघि बढ्न नसकेको भन्दै यसलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता छ।
त्यस्तै राँझा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गरी नेपालका प्रमुख सहरसँगै भारतको नयाँदिल्ली लगायतका प्रमुख सहरमा सिधा हवाई उडानका लागि सरकारसँग पहल गर्ने जनाएको छ।
लगानी सम्मेलनदेखि सुख्खा बन्दरगाहसम्म
बाँकेलाई औद्योगिक उत्पादन, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको प्रादेशिक केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना बनाउने र लगानी सम्मेलन आयोजना गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ।
तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह निर्माणको मागलाई निरन्तर उठाउने तथा नेपालगन्ज एकीकृत जाँच चौकीमा आयात–निर्यातको समय र लागत घटाउन पहल गर्ने जनाएको छ।
आइसीपीमा गोदाम, पार्किङ, कन्टेनर व्यवस्थापन, सुरक्षा तथा डिजिटल प्रणाली सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्यानलको योजना छ।
युवा र महिला उद्यमशीलतामा जोड
युवा तथा महिला उद्यमशीलता प्रवद्र्धनका लागि स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने, सीप विकास, स्वरोजगार तथा रोजगारमूलक तालिम आयोजना गर्ने प्रतिबद्धता छ।
महिला तथा युवा उद्यमीका उत्पादनको बजार विस्तार र ब्रान्डिङमा सहयोग गर्ने तथा व्यवसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध व्यापार तथा चोरी पैठारी नियन्त्रणका लागि भन्सार, प्रहरी र प्रशासनसँग नियमित समन्वय गर्ने तथा स्वदेशी उत्पादनको प्रयोग र स्वदेशमै खरिदारीका लागि उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
कृषि, जडीबुटी र पर्यटन प्रवद्र्धन
कृषि उपजको बजारीकरण, स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र गुणस्तर सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्यानलले जनाएको छ।
आवश्यकताका आधारमा सहरी क्षेत्रमा हाट बजारको सम्भाव्यता अध्ययन गर्ने तथा जडीबुटी संकलन, प्रशोधन, भण्डारण र निर्यातमा सहजीकरणका लागि सम्बन्धित व्यवसायी संस्थासँग समन्वय गर्ने प्रतिबद्धता छ।
बाँकेका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रवद्र्धनका लागि पर्यटनसम्बन्धी निकाय, व्यवसायी र अन्य सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ।
नेपालगन्जमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव, रोजगार मेला, उद्यमशीलता कार्यक्रम तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता पनि प्यानलको छ।
व्यवसायीका लागि स्वास्थ्य, बिमा र सहुलियत ऋण
व्यवसायीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विभिन्न अस्पतालसँग सहकार्य गरी सहुलियत दरमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने जनाएको छ।
सामूहिक बिमा कार्यक्रमलाई निरन्तरता दिने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता छ।
बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरी व्यवसायीका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउन पहल गर्ने जनाएको छ।
महिनामा एक दिन बजार बन्द गर्ने प्रस्ताव
व्यवसायीलाई स्वास्थ्य र परिवारका लागि समय उपलब्ध गराउने उद्देश्यले महिनामा एक दिन बजार बन्द गर्ने प्रस्ताव पनि प्यानलले अघि सारेको छ।
यस विषयमा आमव्यवसायीसँग राय–सल्लाह लिएर हरेक महिना एक दिन बजार बन्द गर्ने निर्णय कार्यान्वयन गर्ने जनाएको छ।
सहायता कक्ष र व्यवसायीमैत्री नीति
व्यवसायीका कानुनी, कर, राजस्व तथा अनुगमनसम्बन्धी समस्या समाधानका लागि संघमा सहायता कक्ष तथा परामर्श केन्द्र स्थापना गर्ने प्रतिबद्धता छ।
कर, राजस्व, भन्सार, बैंकिङ, उद्योग, वाणिज्य तथा पर्यटनसम्बन्धी व्यवसायीमैत्री नीति र कानुन निर्माणका लागि सरकारलाई सुझाव दिने तथा तीनै तहका सरकारसँग विषयगत रूपमा समन्वय र सहकार्य गर्ने जनाएको छ।
डिजिटल मार्केटिङ, लेखा, कर, वित्तीय साक्षरता, नेतृत्व तथा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तथा भन्सार, कर, राजस्व, मौद्रिक नीति र बैंकिङ क्षेत्रका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।
संघको कार्यालयलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने तथा सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने प्यानलले जनाएको छ।
को–को छन् संयुक्त प्यानलमा ?
संयुक्त प्यानलबाट अध्यक्ष पदमा चिरञ्जीवी ओली र महिला उपाध्यक्षमा रूपा ओझा (सानु) उम्मेदवार छन्।
उद्योगतर्फ उपाध्यक्षमा कमलकुमार कार्की, वाणिज्यतर्फ उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, एसोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भइसकेका छन्।
महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टीकामणि उपाध्याय उम्मेदवार छन्।
सदस्य पदमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, चाँदबाबु अन्सारी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई. नगेन्द्र शाही र शरदप्रसाद रिजाल उम्मेदवार छन्।
संयुक्त प्यानलले व्यावसायिक एकता, सहकार्य र पारदर्शितालाई आधार बनाएर संघलाई सबल बनाउने र बाँकेको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिका बढाउने लक्ष्य अघि सारेको जनाएको छ।










Discussion about this post