बाँके, भदौ ७ गते ।
श्रम संस्कृति पार्टीले भदौ १३ गते नेपालगन्जमा अगुवा श्रमदातासँग हातेमालो तथा पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने पार्टीले जनाएको छ।
कार्यक्रम नेपालगन्जस्थित होटल ग्याजेस्टिकमा बिहान ११ः३० बजे हुनेछ। कार्यक्रममा बाँकेका अगुवा श्रमदाता, पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुने बताइएको छ।
कार्यक्रमबारे जानकारी दिन आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका बाँके अध्यक्ष श्रीमान् थापा मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष ओमकार थापा, प्रदेश सह–कोषाध्यक्ष रामचरण चौधरी, प्रदेश सदस्य ज्योति परियार र दिनेश गुरुङ, जिल्ला संगठन विभाग प्रमुख तथा कार्यक्रम संयोजक राजन राना मगर, वरिष्ठ नेता मोहम्मद इम्तियाज राई, कस्मिरा खातुन र जिल्ला उपाध्यक्ष मेघराज सुनारलगायत सहभागी थिए।
कार्यक्रम संयोजक राना मगरले श्रम संस्कृति पार्टीले श्रमलाई विकासको आधार बनाउँदै संगठन विस्तार गरिरहेको बताए। उनका अनुसार पार्टीका केन्द्रिय अध्यक्ष साम्पाङको नेतृत्वमा धरानमा श्रमदानमार्फत खानेपानी, पुल, पार्क तथा विपन्न परिवारका लागि घर निर्माणलगायतका काम भएका छन्।
‘स्थानीय श्रम र आधुनिक प्रविधिको संयोजनबाट मात्रै देशको विकास सम्भव छ,’ राना मगरले भने, ‘त्यसैले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न पार्टीले अभियान सञ्चालन गरिरहेको छ।’
उनका अनुसार बाँकेमा पनि प्रत्येक शनिबार श्रम अभियान सञ्चालन हुँदै आएको छ। अभियानमार्फत स्थानीयस्तरमा श्रम र विकासप्रति जनचेतना जगाउने काम भइरहेको उनले बताए।
राना मगरले बाँकेका आठवटै स्थानीय तह र ८१ वटै वडामा संगठन विस्तार गर्ने पार्टीको लक्ष्य रहेको बताए। ‘आगामी स्थानीय तह निर्वाचनमा जिल्लाका सबै पालिका र वडामा सहभागी हुने गरी संगठन विस्तार गरिरहेका छौं,’ उनले भने।
उनले अधिकांश पालिकामा पार्टीको संगठन निर्माण भइसकेको दाबी गरे। स्थानीय उत्पादनलाई प्राथमिकता दिने र परनिर्भरता घटाउने विषयलाई पार्टीले राजनीतिक एजेन्डाका रूपमा अघि बढाएको उनले बताए।
भदौ १३ गते हुने कार्यक्रम राजनीतिक तथा सांगठनिक विस्तारमा केन्द्रित हुने पार्टीले जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिलाई पार्टी प्रवेश गराउने तयारीसमेत गरिएको छ।
राना मगरले कार्यक्रममार्फत श्रम, स्थानीय उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर पार्टीको राजनीतिक तथा सांगठनिक अभियानलाई थप विस्तार गरिने बताए।










Discussion about this post