दाङ, असोज ८ गते ।
जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार साँझ ५ बजेदेखि जिल्लाका पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जोखिमयुक्त सडकखण्डमा रातिको समयमा आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताए।
उनका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, घोराही–होलेरी र भालुवाङ–चकचके सडकखण्डअन्तर्गत भालुवाङदेखि गहनाहा खोलासम्मको सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
त्यसैगरी सहिद मार्गअन्तर्गत घोराही–होलेरी सडक र तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्मको सडकमा पनि रातिको समयमा सवारी आवागमन बन्द गरिएको पाण्डेले बताए।
असोज ११ गते बिहान ६ बजेसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा आवागमन बन्द रहने उनले बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले अत्यावश्यक कामबाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न आग्रह गरेका छन्। उनले जोखिमयुक्त क्षेत्रमा नजान तथा जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको बताए।
राप्ती, बबईलगायत नदी तथा अन्य जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको उनले जानकारी दिए। विपद्का बेला आवश्यक पर्नसक्ने स्रोतसाधन व्यवस्थापन गर्नुका साथै उद्धार टोलीलाई तयारी अवस्थामा राखेर उच्च सतर्कता अपनाइएको पाण्डेले बताए।












Discussion about this post