बाँके, कात्तिक ११ गते ।
वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल बढ्न थालेको छ । पर्यटक आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले एक हजार रुपैयाँको सफारी प्याकेजसमेत ल्याएका छन् ।
मनसुन सकिएपछि निकुञ्जका कच्ची बाटा मर्मत गरी सफारी खुला गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनका अनुसार सस्तो प्याकेजले कम खर्चमा जङ्गल सफारी र वन्यजन्तु अवलोकन गर्न चाहने पर्यटकलाई आकर्षित गरेको छ ।
नेपालकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज बाँके जैविक विविधताका लागि परिचित छ । यहाँ दुर्लभ चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा र विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । सफारीसँगै गाभर भ्यालीमा स्थानीय परिकार र संस्कृतिको अनुभव लिन सकिने चौधरीले बताए ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली पश्चिम नेपालको आकर्षक प्राकृतिक पर्यटन गन्तव्य बनेको बताए । उनका अनुसार जीपमा जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तु, चराचुरुङ्गी र प्राकृतिक वनस्पति अवलोकन गर्नु सफारीको मुख्य आकर्षण हो ।
निकुञ्जमा पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ पर्यटक निकुञ्ज पुगेका थिए । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६२० र २०८०/८१ मा ४४४ पर्यटक पुगेका थिए ।
निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले निजी क्षेत्रसँग समन्वय गरी पर्यटन प्रवद्र्धनका योजना अघि बढाइएको बताए ।











Discussion about this post