बाँके, कात्तिक १८ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
किसानले उत्पादन गरेको सबै जातको धान उचित मूल्यमा खरिद गर्न सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले बताए ।
स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद अभियान सञ्चालन गरिएको उनले बताए ।
“स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएका हौँ,” वलीले भने, “किसानको मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ ।”
सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपैयाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपैयाँ र हाइब्रिड धान दुई हजार ७५० रुपैयाँमा खरिद गर्ने जनाएको छ । धान बिक्री गर्न इच्छुक किसानले सहकारीको गोदाम वा सङ्कलन केन्द्रमा उत्पादन ल्याउनुपर्नेछ ।
गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्ती सोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको वलीले बताए ।
राप्ती सोनारी–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य छन् । किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्ती सोनारी–५ बिनौनास्थित गोदाममा व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशङ्कर वलीले बताए ।
सहकारीले धान खरिदसँगै बीउ उत्पादनमा पनि किसानलाई प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको बीउ धानसमेत सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताए ।
किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपैयाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ ।
मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी–पिसानीको सुविधा लिन सहज हुने अध्यक्ष वलीको भनाइ छ । स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानको व्यावसायिक कृषिप्रतिको आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा यस वर्ष धान खरिदका लागि १० हजार क्विन्टल मात्रै कोटा निर्धारण गरेकाले सहकारीले गाउँमै धान खरिद गर्नु किसानका लागि राहत हुने किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।
सरकारी खरिद कोटा सीमित हुँदा किसानले उत्पादन गरेको धान बिक्री गर्न समस्या हुने गरेको भन्दै उनले सहकारीको खरिद अभियानले किसानलाई बजारको विकल्प उपलब्ध गराउने बताए ।













Discussion about this post