बर्दिया, मंसिर १ गते ।
कुनै समय लोप हुने अवस्थामा पुगेको बर्दियाको रैथाने थारु आलु अहिले किसानका लागि आम्दानीको स्रोत बन्न थालेको छ । स्वादिलो हुनुका साथै लामो समयसम्म भण्डारण गर्न सकिने भएपछि उपभोक्ताको रोजाइमा पर्न थालेको यो आलुको माग बढ्दै गएको छ । बजारमा राम्रो मूल्य पाउन थालेपछि किसान पनि यसको खेती विस्तार गर्न थालेका छन् ।
बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान परशुराम थारुले दुई कट्ठा जमिनमा उत्पादन गरेको सात क्विन्टल आलुमध्ये चार क्विन्टल बिक्री गरेर २० हजार रुपैयाँ आम्दानी गरे । घरमै आएर ग्राहकले आलु किन्ने गरेपछि उनी यस वर्ष पनि खेतीलाई निरन्तरता दिएका छन् ।
‘थारु आलुको बजार राम्रो छ । आलु किन्न ग्राहक घरमै आउँछन् । यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने ।
सोही ठाउँका किसान हाकिम थारुले पनि गत वर्षको उत्पादन र बजार मूल्यबाट उत्साहित भएर यस वर्ष खेती विस्तार गरेका छन् । गत वर्ष एक कट्ठामा चार क्विन्टल आलु उत्पादन गरेका उनले यस वर्ष दुई कट्ठामा खेती गर्न लागेको बताए ।
‘थारु आलुको स्वाद राम्रो छ । उत्पादन पनि राम्रो भएपछि यस वर्ष खेती बढाएको हुँ,’ उनले भने ।
थारु आलु किसानको खेतबाट उपभोक्ताको भान्सासम्म पुग्न थालेको छ । बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज बस्दै आएकी सपना भट्टराई बजारमा पाइएसम्म थारु आलु नै किन्ने गरेको बताउँछिन् । अन्य आलुभन्दा स्वादिलो र लामो समयसम्म राख्न सकिने भएकाले सिजनमै किनेर वर्षभरि प्रयोग गर्ने गरेको उनले बताइन् ।
बर्दियामा उत्पादन हुने थारु आलुको माग स्थानीय बजारमा मात्र सीमित छैन । नेपालगन्ज र कोहलपुर हुँदै काठमाडौं र पोखरासम्म यसको बजार विस्तार भएको राजापुरका किसान जगत चौधरीले बताए ।
थारु समुदायले पुस्तौँदेखि खेती गर्दै आएको यो आलु पछिल्लो समय पुनः किसानको प्राथमिकतामा पर्न थालेको छ । यसको उत्पादन र संरक्षणका लागि स्थानीय तहले समेत अनुदानमा बीउ वितरण गर्न थालेका छन् ।
बढैयाताल गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीका अनुसार गाउँपालिकामा ३० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ । त्यसमध्ये पाँच हेक्टरमा थारु आलुखेती हुने गरेको छ । गाउँपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा १६ क्विन्टल आलुको बीउ वितरण गरेको थियो ।
चालु आर्थिक वर्षमा पनि आलुखेती विस्तारका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । किसानको मागका आधारमा उक्त बजेट थारु आलुखेती प्रवद्र्धनमा खर्च गर्न सकिने चौधरीले बताए ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीका अनुसार थारु आलुको खेती जिल्लाका आठवटै स्थानीय तहमा हुने गरेको छ । बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा यसको खेती बढी हुने गरेको उनले बताए । यसको खेती हुने क्षेत्रफलको यकिन तथ्याङ्क भने कार्यालयसँग छैन ।
प्रदेश सरकारले रैथाने बाली संरक्षणका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । थारु आलु पनि रैथाने बालीअन्तर्गत पर्ने भएकाले यसको संरक्षण र प्रवद्र्धनमा उक्त बजेट प्रयोग गर्न सकिने चौधरीले बताए ।
थारु आलुको विशेषता यसको स्वादसँगै भण्डारण क्षमता पनि हो । अन्य प्रजातिका आलु भण्डारण गर्न शीतभण्डार आवश्यक पर्न सक्ने भए पनि थारु आलुलाई प्रकाश नपर्ने ओसिलो ठाउँमा राखेर वर्षभरि प्रयोग गर्न सकिने कृषि प्राविधिक चौधरीले बताए ।
अन्य आलुको तुलनामा उत्पादन केही कम भए पनि बजारमा प्रतिकिलो ४० रुपैयाँसम्म मूल्य पाउने गरेको किसान बताउँछन् । यही कारण किसानले यसलाई कम उत्पादन भए पनि राम्रो मूल्य पाइने बालीका रूपमा लिन थालेका छन् ।
तर पर्याप्त प्रचारप्रसार र व्यवस्थित बजारीकरणको अभावमा थारु आलुले अझै अपेक्षित बजार पाउन सकेको छैन । यसको खेती विस्तारसँगै बीउ संरक्षण, उत्पादन वृद्धि र बजार व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने किसान अगुवा जगत चौधरीले बताए ।











Discussion about this post