बर्दिया, मंसिर १ गते ।
बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि वर्षौंदेखि नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासीमा आवागमन सहज हुने आशा पलाएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्ज र चितवनको भरतपुर–३ स्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणका लागि सम्झौता भएको कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले बताए । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।
६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । पुल ४२० मिटर लामो र ११ मिटर चौडा रहनेछ । निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन पेस गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।
सडक डिभिजन कार्यालय नेपालगन्जले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।
बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम तत्काल सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताए । उनका अनुसार यो पुल पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकबाट जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका–१० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने सडकमा पर्छ ।
पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गबाट जयनगर हुँदै गुलरिया र भारत आवतजावत गर्ने स्थानीयवासी तथा यात्रुलाई सहज हुनेछ । अहिले पुल नहुँदा यस क्षेत्रका बासिन्दाले लामो दूरी घुमेर जानुपर्ने वा जोखिम मोलेर बबई नदी पार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
जब्दीघाटमा यसअघि निर्माण गरिएको पुल सञ्चालनमा नआउँदै क्षतिग्रस्त भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुरानो पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन भने सञ्चालन हुँदै आएका थिए ।
२०७९ सालको बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको सडक डिभिजन कार्यालयका प्रमुख भट्टले बताए ।
पुल भत्किएपछि स्थानीयवासीले डुङ्गा र काठे पुलको सहारा लिनुपरेको छ । बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीले नदी वारपार गर्न शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताइन् । नयाँ पुल निर्माणको सम्झौता भएपछि वर्षौंदेखिको समस्या समाधान हुने आशा जागेको उनले बताइन् ।
बर्खायाममा बबई नदीमा बाढी आउँदा वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का बासिन्दाले सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने अवस्था छ । कतिपयले जोखिम मोलेर डुङ्गाबाट नदी पार गर्ने गरेका छन् ।
नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएकाले स्थानीयवासीलाई आर्थिक भारसमेत पर्ने गरेको राममिलन चौधरीले बताए । नयाँ पुल निर्माण भएपछि गुलरिया र बारबर्दियाका बासिन्दाको आवागमन सहज हुनुका साथै यस क्षेत्रको व्यापारिक तथा सामाजिक सम्बन्धमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।










Discussion about this post