बाँके, मंसिर ११ गते ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा तेस्रो दिन पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् । बिहीबार भएका प्रतिस्पर्धामा खेलाडीले पुराना कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा जारी प्रतियोगिताका ३४ इभेन्ट सम्पन्न हुँदा बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले १२ स्वर्ण, सात रजत र सात कांस्य गरी २६ पदक जितेको छ ।
एनआरएनएले नौ स्वर्ण, तीन रजत र तीन कांस्य गरी १५ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । नेपाल आर्मी क्लबले छ स्वर्ण, १० रजत र १३ कांस्य गरी २९ पदक जितेको छ । नेपाल पुलिस क्लबले चार स्वर्ण, ११ रजत र १२ कांस्य गरी २७ पदक हात पारेको छ ।
कोशी प्रदेशले दुई स्वर्ण जित्दा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, तीन रजत र एक कांस्य जितेको छ ।
बिहीबार महिला एक हजार ५०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले १८ मिनेट चार दशमलव १५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी छन् । बोहराले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान तोडेकी हुन् ।
पुरुष २०० मिटर व्यक्तिगत ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले पनि आफ्नै कीर्तिमान सुधार गरेका छन् । उनले दुई मिनेट ३४ दशमलव ७४ सेकेन्डको पुरानो कीर्तिमानलाई सुधार गर्दै दुई मिनेट ३४ दशमलव ३६ सेकेन्डमा दूरी पूरा गरे । कुमालले उक्त स्पर्धामा स्वर्ण जितेका छन् ।
पुरुष १०० मिटर बटरफ्लाइमा बागमती प्रदेशका अभिभ प्रधानले ५८ दशमलव २२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले स्वर्ण पदकसमेत जिते । यसअघि सन् २०१७ मा गौरीका सिंहले एक मिनेट सात दशमलव ६९ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
प्रधानले पुरुष ५० मिटर ब्याकस्ट्रोकमा पनि आफ्नै कीर्तिमान सुधार गरेका छन् । उनले २८ दशमलव ९९ सेकेन्डको पुरानो कीर्तिमानलाई सुधार गर्दै २८ दशमलव ९५ सेकेन्डमा दूरी पूरा गरे ।
चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशको टोलीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । अभिभ प्रधान, बन्तबहादुर श्रेष्ठ, आरेक कर्माचार्य र वशिष्ठराज शाही सम्मिलित टोलीले तीन मिनेट ४५ दशमलव ७५ सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान कायम गरेको हो ।
यसअघि बागमती प्रदेशकै अभिभ प्रधान, जाडेन श्रेष्ठ, अल्भिन महर्जन र रेभन्तबहादुर श्रेष्ठको टोलीले तीन मिनेट ५८ दशमलव ३४ सेकेन्डको कीर्तिमान बनाएको थियो ।
प्रतियोगिताको तीन दिनमा अभिभ प्रधान सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेका छन् । उनले व्यक्तिगत स्पर्धामा छ र रिलेमा दुई गरी आठ स्वर्ण पदक जितेका छन् ।










Discussion about this post