बाँके, असोज १० गते ।
नेपालगन्ज रंगशालामा आधुनिक फ्लडलाइट जडान गरिने भएको छ । सरकारले रात्रिकालीन प्रतियोगिता सञ्चालनसँगै खेलकुद पूर्वाधारको विकास गर्ने योजनाअन्तर्गत रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्न लागेको हो ।
पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको सम्झौताअनुसार आगामी तीन वर्षभित्र नेपालगन्ज रंगशालालगायतका खेलकुद पूर्वाधारमा २५ करोड रुपैयाँसम्म लगानी गरी फ्लडलाइट जडान तथा आवश्यक मर्मतसम्भार गरिने जनाइएको छ ।
फ्लडलाइट जडानपछि नेपालगन्जमा रातिको समयमा खेलकुद प्रतियोगिता, अभ्यास तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले बताए । यसले खेल पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
‘फ्लडलाइट जडान भएपछि रातिको समयमा पनि प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । यसले खेलकुद गतिविधि बढाउनुका साथै नेपालगन्जलाई खेलकुदको गन्तव्य बनाउन सहयोग गर्छ,’ उनले भने ।
जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले भने फ्लडलाइटसँगै फुटबल मैदानको सतह, पानी निकासलगायतका पूर्वाधार सुधार गर्नुपर्ने बताए ।
‘नेपालगन्जमा गर्मी महिनामा दिउँसो खेल सञ्चालन गर्न कठिन हुन्छ । आठौँ राष्ट्रिय प्रतियोगिताका बेला फ्लडलाइट नभएकाले चाहेर पनि रातिको प्रतियोगिता गर्न सकिएन,’ उनले भने, ‘अब फ्लडलाइट जडान भएपछि खेलकुद गतिविधि बढ्नेछ ।’
रंगशालामा नियमित खेल तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानी बढाएर मैदानको मर्मतसम्भारमा खर्च गर्न सकिने शाहले बताए ।
नेपालगन्ज रंगशालालाई आधुनिक र सुविधासम्पन्न बनाउन लामो समयदेखि माग हुँदै आएको थियो । फ्लडलाइट जडानपछि पश्चिम नेपालमा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार थपिने अपेक्षा गरिएको छ ।










Discussion about this post